काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नियामक निकायको कमजोरीले सहकारीमा समस्या निम्तिएको बताएका छन्।
बिहीबार राष्ट्रिय सहकारी महासंघको आयोजनामा सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा मन्त्री गिरीले सहकारीको नियमन गर्न बसेका निकायले राज्यबाट सुविधा लिए पनि समस्या आउँदा ध्यान नदिएकै कारण अहिलेको अवस्था सिर्जिएको बताएका हुन्।
‘सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या आएको होइन। सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकायले हेरेनन्। सोही कारण समस्या थुप्रिएका हुन्’, उनले भने।
सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे। ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारी समस्यामा परेको बताए।
सहकारी सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानका निम्ीि पनि समय दिनुपर्ने उनको सुझाव छ। उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे।
‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गरे भन्दैमा सबैलाई लज्जित गर्नुहुन्न। यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्। सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अस्टे«लिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने?’
सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधि प्रयोग अनिवार्य रहेको उनले औंल्याए। प्रविधिमार्फत सदस्यलाई संस्थाका हरेक गतिविधिबारे जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाइ छ।
मन्त्री गिरीले सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंकजस्तै निकाय आवश्यक भइसकेको बताए।