भ्रमण वर्ष–२०२० सुरु हुन एक महिना मात्र बाँकी छ । भूकम्प र नाकाबन्दीले थला परेको नेपालको पर्यटन क्षेत्रलाई केही हदसम्म माथि उठाउन सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न अहिले सरकार र विशेषगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जोडतोडका साथ लागिरहेको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि सुस्ताएको भ्रमण वर्षको प्रचारप्रसार अहिले पुनः ब्युँतिएको छ । बढीभन्दा बढी स्तरीय पर्यटक ल्याउन तामझामसहित विभिन्न देशमा निम्तो बाड्ने काम भइरहेको छ । पर्यटन व्यवसायीले पनि विभिन्न आकर्षक प्याकेज घोषणा गरिरहेका छन् । नेपालको पर्यटकीय क्षेत्रलाई विश्वव्यापी बनाउने उद्देश्यका साथ भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्ड व्यस्त छ ।
म आफैँले पनि पर्यटन व्यवसायी मात्र हुँदा र भ्रमण वर्ष–२०२० को परामर्शदाताको जिम्मेवारी पाउँदा फरक अनुभव गर्न पाइरहेको छु । पहिला बाहिर बसेर सरकारलाई यस्ता काम गर्नुपर्छ भनेर सुझाव दिइन्थ्यो भने अहिले आफैँ सुझाव कार्यान्वयन गर्ने निकायमा पुगेको छु । यसरी हेर्दा अहिले जिम्मेवारी धेरै बढेको छ ।
बाहिर बसेर सुझाव दिँदाभन्दा कार्यान्वयनमा जान केही समस्या त आइरहेको छ । अहिले सिंगो पर्यटन व्यवसायीको प्रतिनिधित्व गरेर स्थापना भएको भ्रमण वर्षको सचिवालयमा छु । सरकारले दिएको कार्यतालिकाअनुसार नै प्रचारलाई तीव्रता दिइएको छ । विशेषगरी दुई छिमेकी मुलुक भारत र चीनसँगै अन्य मुलुकमा पनि प्रचार तीव्र पारिएको छ । युरोपियन मुलुकका पर्यटकलाई नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौ“ ।
उनीहरुका लागि आवश्यक पर्यटकीय स्थल कस्ता हुन्छन् र सहज रुपमा ल्याउन जहाजको व्यवस्था कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गइरहेको छ । अहिले नेपाल वायुसेवा निगमले जापानमा सीधा उडान सुरु गरेको छ, जसको कारण जापानलगायत आसपासका देशबाट पर्यटक ल्याउन सहज भएको छ । हिमालय एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा बंगलादेश र चीनमा सीधा उडान सुरु गरेको छ । अब त्यस क्षेत्रबाट पर्यटक बढ्नेमा विश्वस्त छौ“ । विभिन्न देशमा ट्रान्जिट गर्नुभन्दा सीधा उडान हुँदा जहाज भाडा सस्तो हुने भएकाले पनि धेरैको आकर्षणमा नेपाल पर्न सक्छ ।
अहिले सरकारले नयाँ बजारको खोजी गरिरहेको छ । विशेषगरी युरोपबाट धेरैभन्दा धेरै पर्यटक ल्याउने र भएका बजार दोब्बर बढाउने तयारी भइरहेको छ । अहिले भ्रमण वर्षको प्रचार–प्रसार विभिन्न देशका भाषाबाट पनि सुरु गरिएको छ । नेपालको पर्यटन क्षेत्रलाई सहयोग पुर्याउनेहरुलाई सद्भावना दूतका रुपमा नियुक्त गरेका छौँ । यसको प्रभाव उनीहरुको देशमा हामीले गरेको प्रचारभन्दा दोब्बर पर्छ । अहिले संख्यात्मक र गुणात्मक पर्यटकमा जोड दिँदै गएका छौँ । संख्याभन्दा नेपाल आएपछि यहाँको जनस्तर सुधार हुने खालको पर्यटक ल्याउन आवश्यक छ ।
पर्यटन क्षेत्रको अध्ययन र अनुसन्धान गर्दै आएकाले हामीलाई गुणात्मक पर्यटक आवश्यक छ । पर्यटक बढेर मात्र हुँदैन, अब आम्दानी पनि बढ्नुपर्छ । अहिले १० महिनामा १० लाख पर्यटक आएका छन् भने २०२० मा २० लाख पर्यटक ल्याउन कुनै समस्या छैन । तर, २० लाख पर्यटक पुर्याउँदा हाम्रो आम्दानी बढेन भने त्यो प्रभावकारी हुन्न । सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन पनि पर्यटन क्षेत्रको महङ्त्वपूर्ण भूमिका रहन्छ । पुँजीको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन ।
खासगरी ग्रामीण भूगोलका जनताले पर्यटन क्षेत्रबाट लिने लाभलाई मेरो हिस्सा हो भन्ने वातावरण निर्माण नगर्दासम्म यो अभियानले सार्थकता पाउँदैन । गन्तव्यको विस्तारदेखि तल्लो तहसम्मको अर्थतन्त्रलाई बलियो बनाएर मात्रै राष्ट्रिय आर्थिक वृद्धि र समृद्ध नेपालको कुरालाई जोड्न सक्छौँ । यो भ्रमण वर्षको कार्यक्रमले संख्याको हिसाबसँगै नेपालको पर्यटनलाई अर्थसँग जोड्न सकियोस् भन्ने हाम्रो चाहना हो । पर्यटनको माध्यमबाट कम्तीमा ग्रामीण समुदायको आर्थिक रुपान्तरणमा काम गर्न सक्यौँ भने त्यसले राष्ट्रिय आयमा वृद्धि नै गर्ने हो ।
पर्यटकका लागि नयाँ प्रोडक्ट भनेकै यहाँको प्राकृतिक सुन्दरता हो । यहाँको जस्तो सुन्दरता विश्वका कुनै पनि मुलुकमा छैन । विश्वकै आकर्षक गन्तव्य नेपाल हो । यहाँ संसारकै सबैभन्दा अग्लो सगरमाथा हिमाल छ, गौतम बुद्धको जन्मस्थल छ । यी बाहेक संसारका पर्यटकलाई आकर्षण गर्ने धेरै प्रडक्ट छन् । अब विकल्पलाई जोड दिँदै जानुपर्छ । बेस क्याम्पबाट फर्किएका पर्यटक काठमाडौँ आउनेबित्तिकै विदेश फर्कने वातावरण बन्न दिनुहुँदैन । उनीहरुलाई अझै ३–४ दिन यही बस्ने वातावरण मिलाउन सक्नुपर्छ । वैकल्पिक ठाउँ खोज्नुपर्छ ।
चितवन र लुम्बिनीलाई अहिलेकै अवस्थामा परिर्वतन गरेर जाने बेला भएको छ । सरकारको मात्र मुख ताकेर हुँदैन । पर्यटन व्यवसायीले पनि नयाँ प्रोडक्ट ल्याउन आवश्यक छ । भ्रमण वर्षमा आउने पर्यटकलाई नेपालबाट के दिन सकिन्छ भन्ने तयारी त व्यवसायीले पनि गर्नुपर्योे नि । २० लाख पर्यटक आउँदा सबैभन्दा पहिला फाइदा लिने पर्यटन व्यवसायीले नै हो । यसमा व्यवसायीको दायित्व के–के हुन्छ भन्न सक्नुपर्छ । सरकारले त व्यवसायीले तिरेको कर र राजस्व पाउने हो ।
सरकारले केही गर्दैन र केही कार्यक्रम आएन भन्ने बहस मात्र गर्नेभन्दा निजी क्षेत्र, सरकार, समुदाय, सञ्चारकर्मी सबै मिलेर प्रचार–प्रसार गर्नु आवश्यक छ । पर्यटन व्यवसायमा एक्लैै हिँडेर गन्तव्यमा पुगिँदैन । २०२० मा २० लाख पर्यटक ल्याउन सके हाम्रो कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतबाट बढाएर ५–६ प्रतिशतसम्म पुर्याउन सकिए ठूलो उपलब्धि हुन्छ । अहिले हाम्रो ध्यान यतातर्फ पनि हो । धेरैले उठाउने विषय भनेको तयारी भएन, देखिएन, सोचअनुसारका पर्यटक आउँदैनन् कि भन्ने पनि छ ।
यसमा प्रचार भएको छ तर हल्ला कम भएको स्वीकार्नुपर्छ । सबै निकाय लागिपरेका छन् । अहिले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन लागिरहेका छौँ । २०२० लाई आधार वर्ष बनाएर दशकौँ वर्षसम्म पर्यटन वर्षको रुपमा मनाउने सरकारको तयारी छ । २०२१ देखि २०३० सम्म पर्यटकका विभिन्न विधालाई विशेष बनाएर मनाउन सक्छौ“ । यसले गर्दा सम्बन्धित विषयमा चासो राख्ने पर्यटक नेपाल आउन सक्छन् । अहिले पर्यटकको संख्या बढे पनि खर्चको दर भने घट्दै गएको छ ।
अब पर्यटकको खर्च दरलाई बढाउन नेपालको नया“–नया“ ठाउँमा लैजानुपर्छ । यसका लागि सरकारले १ सय वटा नयाँ गन्तव्य पहिचान गरेर आवश्यक पूर्वधार निर्माण थालिसकेको छ । यस्तै, भ्रमण वर्ष सचिवालयले १ सय वटा गन्तव्यभित्रबाटै २५ वटा गन्तव्य छनोट गरेको छ । त्यहाँ लगेर उनीहरुलाई लामो समय बस्ने र धेरै खर्च गर्न सक्ने वातावरण बनाउनुपर्छ । यो काम त सरकारले मात्र गरेर भएन, पर्यटन व्यवसायी, सम्बन्धित ठाउँका समुदायले पनि यसप्रति चासो राख्न आवश्यक छ ।
नेपालको पर्यटन क्षेत्र लामो समयदेखि एकैनासको छ । अब यसलाई केही परिवर्तन गर्नुपर्छ । काठमाडौँको हिमालय क्षेत्रबाहेक ठमेल, पोखरा, चितवन र लुम्बिनीमा मात्र केन्द्रित भएको पर्यटनलाई नयाँ ठाउँमा विस्तार गर्नुपर्छ । यहाँ रहेको कला–संस्कृतिलाई व्यापकता दिएर पर्यटकलाई लोभ्याउन सकिन्छ । समुदायलाई नै अगाडि सारेर आफ्नो क्षेत्रमा रहेको कला–संस्कृतिलाई देखाउन सक्यौँ भने पनि धेरै उपलब्धि हुन्छ ।
सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीति–नियम बनाउनुपर्छ । निजी क्षेत्रमैत्री कानुन बनाउन भ्रमण वर्ष सचिवालयले पहल गर्नेछ । २०१९ मा चीन र बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणले पनि भ्रमण वर्षलाई ठूलो सहयोग पुगेको छ । त्यसमा पनि छिमेकी मुलुक भारत र चीनबाट ठूलो संख्यामा पर्यटक आइरहेका बेला अब युरोपियन मुलुकमा प्रचारलाई तीव्र पार्न सके सहजै रुपमा लक्षित संख्या पुर्याउन सकिन्छ ।