काठमाडौं। सरकारले मिटर ब्याज पीडितसँग सम्झौता गरेर आन्दोलन मत्थर पारिसकेको छ। यस्तै, लघुवित्तपीडितलाई पनि वार्तामा आउन आग्रह गरेको छ।
मिटर ब्याज र लघुवित्त पीडितका मागमा सरकारले वार्ता गर्ने भएसँगै सहकारी पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन्।
देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितले सरकारलाई माग गराउन र जनदबाब सिर्जना गर्ने उद्देश्यले आज विरोध प्रदर्शन गर्न लागेका हुन्।
चैत मसान्तभित्र सबै सहकारी पीडितको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयबाट महिना दिनअघि भएको घोषणा पूरा नगरेको र आफ्ना माग सम्बोधन नभएको भन्दै पीडितले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा विरोधस्वरुप कोणसभा गर्न लागेका हुन्।
सहकारी पीडितले विरोध प्रदर्शनका क्रममा कालीमाटी, गोंगबु, नयाँ बसपार्क बिजी मल, सिफल चौर, शंखपार्क र जावलाखेलबाट ¥याली, ब्यानरसहित सुन्धारामा भेला भएर विरोध प्रदर्शन गर्दै छन्।
सुन्धारामा भेला भएका उनीहरुले भृकुटीमण्डप पुगेर विरोधस्वरुप कोणसभा गर्ने कार्यक्रम रहेको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले बताएको छ।
काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणले आन्दोलन गर्दै आएका छन्। सहकारी पीडितले चरणबद्ध आन्दोलन गरिरहे पनि सरकारले तिनका माग सम्बोधन भने गरेको छैन।