काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नेपाली नागरिकबाट बुधबारसम्म आवेदन माग गरेको थियो। जसअनुसार १९ जना आवेदक दर्ता गरिएको छ। बोर्डको अध्यक्षको प्रतिस्पर्धामा बिमा सीमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन्। त्यस्तै बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन्।
सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की पनि प्रतिस्पर्धाना छन्।
यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा यसअघि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ।
समिति सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर तथा व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्। यही समितिले आवेदकमध्येबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ। २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले कार्यकारी अध्यक्षविहीन छ।