दोलखा। समय बदलिँदो छ। समयसँगै प्रविधिको विकासले पनि फड्को मार्दै गएको छ। प्रविधिको विकास जति भयो, यसको प्रयोग र प्रभाव पनि बढ्दै जान्छ।
अन्य क्षेत्रमा जस्तै बैंक तथा वित्तीय क्षेत्रमा प्रविधि प्रयोगको लहर सहरदेखि गाउँसम्मै पुगेको छ। विगतमा चेक बोकेर बैंक तथा वित्तीय संस्थाको काउन्टरमा पुगेर घन्टौं लाइन बस्नुपर्ने बाध्यता विस्तारै घट्दो क्रममा छ। यस्तो बाध्यता सहरमा करिब समापनतिर छ भने गाउँघरतिर पनि क्रमशः घटिरहेको छ।
यतिबेला अधिकांश वित्तीय क्षेत्रमा आएको यो परिवर्तनलाई विस्तारै सहकारी संघ–संस्थाले समेत आत्मसात् गर्दै अघि बढेका छन्।
सामान्यतः सहकारीले बचतकर्ताको पैसा जम्मा गर्ने र तिनलाई आवश्यकताअनुसार धितो, जमानीमा ऋण लगानी गरेर व्यवसाय सञ्चालनमा सहयोग गर्छन्। तर, दोलखा र रामेछापमा सञ्चालित सहकारीले प्रविधिको प्रयोगमा समेत जोड दिँदै आएका छन्।
धेरैजसो मानिसले एटिएम प्रयोग बैंकमा मात्रै गरेका हुन्छन्। त्यस्तै, मोबाइल एप पनि सहरी क्षेत्रका कम्पनीमा बढी भेटिन्छन्। तर, दोलखा र रामेछापका सहकारीले गाउँमै आफ्नै एटिएम बुथ र मोबाइल एपसाथै आर्थिक कारोबार क्षेत्रमा अन्य डिजिटल प्रविधि सञ्चालन गर्दै आएका छन्।
सहकारीले सञ्चालनमा ल्याएका प्रविधि प्रयोगमा स्थानीय पनि अभ्यस्त हुँदै छन्। त्यस्तै, कार्यालय धाउनुपर्ने, लाइन बसेर रकम लिनु÷दिनुपर्ने झन्झट अन्त्य हुनुका साथै सरकारको डिजिटलाइजेसन लक्ष्यमा समेत टेवा पुगेको छ।
रामेछापको मन्थली नगरपालिका–१ को नवजागरण बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध सदस्यको कारोबार जानकारी एसएमएसमार्फत मोबाइलमा पठाउँछ। नवजागरणको आफ्नै मोबाइल बैंकिङ एप र एटिएम बुथसमेत छ।
सोही माध्मबाट घरमै बसेर बचतकर्ताले आफ्नो कारोबारको जानकारी, मोबाइल तथा डिसहोम रिचार्ज गर्ने, मिनिस्टेटमेन्ट, रकम ट्रान्सफर, नेट, बिजुली बिल भुक्तानीलगायत कार्यको सुविधा उपयोग गर्न पाएका छन्।
नवजागरणमा ११ सय सेयर सदस्यले मोबाइल बैंकिङको सेवा लिइरहेका छन्। संस्थामा आबद्ध सदस्यलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले डिजिटल माध्यम प्रयोगमा जोड दिएको नवजागरण सहकारीका सचिव सोमेश थापा बताउँछन्।
‘रामेछापमा एटिएम सुविधा उपलब्ध गराउने पहिलो सहकारी ‘नवजागरण’ हो। हाम्रो सहकारीमा जोडिएका अधिकांश सेयर सदस्य कृषि क्षेत्रमा आबद्ध छन्। सदस्यको सहजीकरणका लागि मोबाइल बैंकिङदेखि स्मार्ट बचत सेवासम्म प्रदान गर्दै आएका छौैं,’ सचिव थापाले भने।
त्यस्तै, दोलखाको बैतेश्वर गाउँपालिका– ५ काभ्रेमा रहेको ‘जनसचेतन बचत तथा ऋण सहकारी’ले ‘प्रविधिमैत्री गुणस्तरीय सेवा, सदस्यलाई टेवा’ नारा अघि सारेको छ। नाराअनुसार नै सहकारीले सबै सदस्यलाई मोबाइल बैंकिङ सेवा दिँदै आएको छ। यसबाट १८ सय सेयर सदस्यले सेवा लिइरहेका छन्।
जनसचेतनले मोबाइल बैकिङमार्फत कारोबार अलर्ट, नगदरहित कारोबार, टपअप तथा रिचार्ज, क्युआर कोड, इ–टेलर, बैंक फन्ड ट्रान्सफर, अनलाइन टिकेटिङलगायत (सहकारीको रकम बैंकमा र बैंकमा भएको रकम कनेक्ट आइपिएसमार्फत सहकारीमा) फरेक्स जानकारी र संस्थाको सूचनासम्बन्धी सेवा दिँदै आएको छ।
जनसचेतन सहकारीका १६ सेवाकेन्द्र छन्। आफ्नो छुट्टै इन्टरनेट सेवा स्थापना गरी १६ वटै केन्द्रबाट सदस्यलाई निःशुल्क अन्तर–सेवाकेन्द्र (एबिबिएस) सेवा उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज दाहालले बताए।
सहकारीले सञ्चालनमा ल्याएका प्रविधि प्रयोगमा स्थानीय पनि अभ्यस्त हुँदै छन्। त्यस्तै, कार्यालय धाउनुपर्ने, लाइन बसेर रकम लिनु÷दिनुपर्ने झन्झट अन्त्य हुनुका साथै सरकारको डिजिटलाइजेसन लक्ष्यमा समेत टेवा पुगेको छ।
‘एउटा कमर्सियल बैंक र जनसचेतनाको मोबाइल बैंकिङ सेवा उस्तै–उस्तै हो। बैंकले राष्ट्र बैैंकमार्फत पाउने क्षेत्राधिकार सहकारीलाई नभए पनि प्रविधि पछ्याएर सेवा दिँदै आएका छौं,’ सीईओ दाहालले भने, ‘तथापि तुलनात्मक हिसाबमा सहकारी संस्थाको मोबाइल बैंकिङ सेवा कमर्सियल बैंकको तुलनामा कम छैन।’
प्रविधिलाई बढावा दिँदै अगाडि बढिरहेको अर्काे सहकारी हो, दोलखाको जिरीस्थित ‘एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड।’ उक्त संस्थाले रेमिट्यान्स सेवा, आइएमई, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट, सिटी एक्सप्रेस, नेपाल रेमिटलगायत विभिन्न कम्पनीसँग सम्झौता गरी देश तथा विदेशबाट भित्रिने रेमिट्यान्सलाई गाउँघरमै प्रविधिको पहुँचमा पुर्याएर सेवाग्राहीलाई सुबिस्ता दिँदै आएको छ।
एकीकृत फ्रेन्डसिप सहकारीका सीईओ रामबहादुर खत्रीका अनुसार संस्थाले सदस्यको सहजताका लागि मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ। ‘अबका सहकारी संस्था प्रतिस्पर्धी हुनुपर्छ। अब पनि प्रविधितिर अगाडि बढ्न सकेनौं भने बैंकहरुले ढाक्छन् र सहकारीको अस्तित्व नै हराउने जोखिम देखिन्छ,’ क्यापिटल नेपालसँग सीईओ खत्री भन्छन्, ‘हामीले सहकारीको विकासमा मात्रै जोड दिएर हुँदैन। प्रविधिलाई पनि अपनाउनुपर्छ, यो वर्तमान समयको माग हो।’
त्यस्तै, प्राविधिक फड्को मार्दै गरेको दोलखाकै अर्को सहकारी हो– ‘मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था’। मिलिजुलीले आफ्ना सदस्यलाई थप सुविधा दिन एटिएम, मोबाइल बैंकिङ सेवा, मनि ट्रान्सफर सेवा, आइएमईका साथै सिटी एक्सप्रेससँग सम्झौता गरेर रेमिट्यान्स सेवा दिँदै आएको छ।
सेयर सदस्यले जुनसुकै ठाउँमा बसेर पनि आफ्नो खाताको पूर्ण विवरण हेर्न मिल्ने व्यवस्थासँगै मोबाइलमा रिचार्ज, क्युआर कोड, बिजुली शुल्क, इन्टरनेट, प्लेन टिकट, बिमा रकम भुक्तानी, रेमिट्यान्सलगायत सेवा लिन सक्छन्।
संस्थामा आबद्ध ८ सय सदस्यले मोबाइल बैंकिङ प्रयोग गरिरहेको सहकारीका सीईओ ईश्वर न्यौपानेले बताए। ‘हाम्रो क्षेत्र हिमाली भएका कारण प्रविधिमा भर्खरै बामे सर्दै छौं। सदस्यलाई पूर्ण रुपमा बुझाउन सकेका छैनौं तर प्रयास निरन्तर छ,’ उनले भने।
बदलिँदो समयसँगै डिजिटल माध्यमलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने गाउँघरमा सञ्चालित सहकारीको बुझाइ छ। सोहीअनुसार प्रविधि प्रयोग र त्यसको फाइदाबारे आफ्ना सदस्यलाई बुझाउन सहकारीले पहल गरिरहेका छन्।