काठमाडौं। आर्थिक मन्दीले अधिकाशं उद्योग व्यवसाय घाटामा गइरहेको बेला पाँच तारे होटल काठमाडौं म्यारियटले भने कर्मचारीलाई बोनस वितरण गरेको छ। सञ्चालनमा आएको ५ वर्षमै म्यारियटले कर्मचारीलाई २ करोड ८० लाख रुपैयाँ बोनस वितरण गरेको हो।
म्यारियटले नाफाको १० प्रतिशत रकम बोनस बापत वितरण गरेको हो। म्यारियट एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडद्वारा सञ्चालित छ।
होटलका अध्यक्ष शशिकान्त अग्रवालले विषम परिस्थिति बीच म्यारियट होटलले आफ्ना कर्मचारीलाई बोनस वितरण गर्न सफल भएको बताए। ‘तीन खम्बे सहयोगका कारण संकटबीच नाफा कमाउन सफल भएका हौं,’ अध्यक्ष अग्रवालले भने, ‘कर्मचारीको लगनशीलता, म्यारियटको व्यवस्थापन र लगानीकर्ताको संयुक्त प्रयासले सफलता हात पार्न परेको हो।’
कर्मचारीहरुको अथक मिहिनेतले दिलाएको सफलता र त्यसबाट प्राप्त आम्दानीको हिस्सा सेयर गर्न पाउँदा आफूलाई निकै भाग्यमानी भएको उनको भनाइ छ। म्यारियटमा रहेका कर्मचारीहरुले आफ्नो अपनत्व लिएकै कारण सफल भएको बताउँदै कोभिड बीच पनि होटल बन्द नगरी जोखिम मोलेर काम गरेको प्रतिफल अहिले पाएको उनले बताए।
सर्वोच्च अदालतले गत वर्षबाट कर्मचारीलाई सर्भिस चार्ज दिन कटौती गर्दा पनि होटलले बैकल्पिक उपाय अपनाएर उनीहरुले सेवाशुल्क बापत पाउने रकम उपलब्ध गराउँदै आएको उनको भनाइ छ।
ग्राहकबाट सर्भिस चार्ज लिन कटौती गरे पनि आम्दानीबाट कर्मचारीले सर्भिस चार्जबापत पाउने रकम दिन सुरु गर्ने पहिलो होटल नै म्यारियट हो। कर्मचारीलाई सर्भिस चार्जको रकम पनि नियमित दिइरहेको छ। प्रति व्यक्ति महिनाको ३० देखि ३२ हजार रुपैयाँ सर्भिस चार्जबापत कर्मचारीले नियमित रुपमा पाइरहेका छन्।
अध्यक्ष अग्रवालले कोभिडमा होटलको किस्ता तिर्न सहज होस भन्नका लागि सम्पत्ति बेचेर ऋण घटाएको बताए। ऋण घटाएसँगै ब्याज कम तिर्दा नाफा बढेको हो। ‘कोभिडका बेलादेखि अहिलेसम्म २ अर्ब २५ करोड रुपैयाँ ऋण घटाइसकेकोले ब्याज बापत बचेको रकम नै नाफामा परिणत हुँदा कर्मचारीलाई बोनस दिन सकेको हो,’ उनले भने।
होटलका प्रवन्ध निर्देशक गौरव अग्रवालले काठमाडौं म्यारियट सहित चार तारे होटल फेयरफिल्ड म्यारियटले समेत पहिलो पटक कर्मचारीलाई बोनस वितरण गरेको बताए।
‘सञ्चालनमा आएको ७ वर्षपछि कर्मचारीलाई नाफा दिन सकेका छौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने ‘तीब्र प्रतिस्पर्धा बीच कर्मचारीको अथक परिश्रमबाट नाफा कमाउन सफल भएको हो। फेयरफिल्डले कर्मचारीलाई २० लाख रुपैयाँ बोनस वितरण गरेको हो।’
काठमाडौं म्यारियटमा ३३२ जना र फेयरफिल्ड म्यारियटमा ८७ जना कर्मचारीहरु आबद्ध छन्।