काठमाडौं। गत वर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले १४ महिनामै प्रतिनिधिसभाबाट तेस्रोपल्ट विश्वासको मत पाएका छन्। बुधबार प्रतिनिधिसभामा गरिएको मत विभाजनमा १५७ सांसदले प्रधानमन्त्रीको पक्षमा समर्थन गरेका हुन्।प्रधानमन्त्रीको विपक्षमा ११० मत परेको छ।
प्रधानमन्त्रीले विश्वासको मल लिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए। प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २० अनुसार विश्वासको मत लिएका हुन्।
एमालेसँगको सत्ता गठबन्धनका बेला पहिलोपल्ट पुस २६ मा प्रतिनिधिसबाट विश्वासको मत पाएका प्रधानमन्त्रीले त्यसपछि चैतमा कांग्रेस क्याम्पमा हाम फालेपछि पुनः संसद्बाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनले राजमो र नेमकिपाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट विश्वासको मत पाएका थिए।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल गत वर्षको पुसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
त्यतिबेला प्रतिनिधिसभामा उपस्थित २७० मध्ये २६८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। प्रतिपक्षमा रहेको कांग्रेसले समेत उनलाई विश्वासको मत दिएको थियो।
त्यसपछि राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ मा प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।
फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि आज तेस्रोपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजेदेखि बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले १४ महिनाभित्र आफूले सत्ता सम्हालेपछि भएका विकास निर्माणबारे चर्चा गरे। अधुरा र अपूरा योजनालाई पूर्णता दिन र नयाँ गठबन्धनलाई बलियो बनाएर लैजान विश्वासको मत लिएको प्रतिक्रिया दिए।
राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरिएसँगै एमाले, रास्वपा, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ मा पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। त्यतिबेला एमालेले विश्वासको मत दिएको थिएन। दोस्रोपल्ट प्रधानमन्त्रीले १७२ मत प्राप्त गरेका थिए। विपक्षमा ८९ मत परेको थियो।
गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री कांग्रेस प्रतिपक्षमा पुगेको छ। सो दलले विश्वासको मत फिर्ता लिएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्।
गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ आवश्यक पर्नेमा १५७ मत प्राप्त गरेका हुन्।