काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले मनपरी रुपमा पैसा बाँड्न खोजेको भनी पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आरोप पुष्टि गर्न भनेका छन्।
प्रधानमन्त्रीले मनपरी पैसा खर्च गर्न चाहेका थिए तर मैले दिइनँ भन्ने आशय मंगलबार पूर्वअर्थमन्त्री महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई आरोप लगाएका थिए।
त्यसको प्रतिवाद गर्दै प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा भने, ‘मैले कहाँ र कसका लागि पैसा मागें, पुष्टि गर्नुस्।’ प्रधानमन्त्रीले अर्थतन्त्रका सुधारका संकेतहरु देखिए पनि कर्जा प्रवाह र मध्यम वर्गीय उपभोगमा वृद्धि गरी पुँजीगत खर्चमा देखिएको कमजोरीलाई सुधार्न आफू लागिरहेको बताए।
चौतर्फी रुपमा सञ्चार माध्यमले नेपाली कांग्रेससँगको गठबन्धन तोडिनुमा अर्थमन्त्री महतको हात रहेको चर्चा गरेपछि महतले मंगलबार पत्रकार सम्मेलन गरेरै सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिमा रोक लगाउन सकेकोमा सन्तोष व्यक्त गरेका थिए। त्यसैको प्रतिउत्तर आज प्रधानमन्त्रीले संसद् बैठकमा दिएका हुन्।
फागुन २१ मा सत्ता समीकरण बदलिएसँगै गरिएको मन्त्रिपरिषद् पुनर्गठन र कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। पछिल्लो सत्ता गठबन्धनबाट एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी सरकारमा सहभागी छन्।
प्रधानमन्त्रीको वक्तव्यको पूर्ण पाठः