काठमाडौ| प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा आज (बुधबार) विश्वासको मत लिने छन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको बताएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ। यही फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको समर्थन फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए।
संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्।
सरकार विस्तारसमेत भइसकेको छ। प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्। प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।