काठमाडौं। जंगल विचरणका लागि पर्या–पर्यटन स्थल चितवन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट गन्तव्य मानिँदै आएको छ। २० मिनेटको हवाई उडान वा ४ घन्टाको ड्राइभमा काठमाडौंबाट सहजै पुग्न सकिने भएकाले छोटो समय निकालेरै भए पनि प्रकृतिसँग रमाउनेका लागि चितवन रोजाइको गन्तव्य बनेको छ।
कुनै समय चितवन भन्नेबित्तिकै पर्यटकीय दृष्टिमा सौराहा मात्रै बुझिन्थ्यो । पश्चिम चितवनमा व्यवसायीले ‘लिजर टुरिजम‘लाई लक्षित गर्दै लग्जरी होटल तथा रिसोर्ट निर्माण गरेपछि सौराहाबाट पर्यटकीय चहलपहल पटिहानी हुँदै मेघौलीसम्म फैलिएको छ।
खासगरी सौराहा पश्चिमको लगानी हेर्दा चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सिमानामा बगेको राप्ती नदी किनारमा बढी केन्द्रित लाग्छा।
प्रकृतिसँगको सामिप्यमा रमाउन चाहनेलाई लक्षित गरी सञ्चालनमा आएका रिसोर्टमध्ये ख्याति कमाउनेमा ‘बाराही जंगल लज’ पनि अग्र भागमा छ। सन् २०१३ सेप्टेम्बरबाट बाराही ग्र्रुपले सञ्चालनमा ल्याएको लक्जरी रिसोर्ट बाराही जंगल लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा परिरहेको छ।
बाराही जंगल लज
नाममै ‘जंगल’ रहेको लज साँच्चिकै १३ हेक्टर जंगलभित्रै बनेको छ। राप्ती नदीको सुसेलीसँग वहकिँदै हरियाली जंगलभित्र थारु शैलीको घरमा बस्दाको अनुभव शब्द चित्रमा उतार्नै मुस्किल हुन्छ। चिरबिर–चिरबिर चरा आवाजमा सुस्याउँदै वहने हावा, आँखै अगाडि बहने अविरल राप्ती नदी र पारिपट्टि अनकन्टार चितवन राष्ट्रिय निकुञ्जलाई नियाल्दा जोकोहीको मन चञ्चल हुन्छ।
लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्तीलगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न सकिन्छ।
लज परिसरमा लगाइएका अनेकानेक बोटबिरुवाको छहारीले मनलाई शितल बनाइदिन्छ। स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै डठ्याइएका छन्। २६ भिल्लामा ३४ कोठा बनाइएको छ भने प्राइभेट स्विमिङ पुलसहितको २ बेडरुमको स्विट भिल्ला रहेको छ। भिल्लालाई खरको छानाले चिटिक्कै सजाइएको छ।
लज बाहिरबाट हेर्दा जति चित्ताकर्षक देखिन्छ, ढोका उघ्राएर भित्र पस्दा त्यहाँको इन्टेरियरले मनै लोभ्याउँछ। पुराना अर्थात् गाउँघरका प्राचीन ढोकामा राखिने आग्लो (चुक्कुल), काठका फल्याकले बनाइएका दराज, प्राकृतिक ‘लुक्स’ दिने फर्निचर र तिनको उत्कृष्ट सजावट बाराहीको अर्को आकर्षण हो।
राप्ती नदीको सुसेलीसँग वहकिँदै हरियाली जंगलभित्र थारु शैलीको बाराही लक्जरियस् रिसोर्टमा अडिँदाको आनन्दानुभूति शब्द–चित्रमा उतार्नै मुस्किल हुन्छ। चिरबिर–चिरबिर चरा आवाजमा सुस्याउँदै बहने हावा, आँखै अगाडिको अविरल राप्ती नदी र पारिपट्टि अनकन्टार चितवन राष्ट्रिय निकुञ्जलाई नियाल्दा जोकोहीको मन चञ्चल हुन्छ।
बाराही बासमा गएका पाहुना गाउँघरमा हुर्के–बढेका भए नोस्टाल्जिक हुन पुग्छन् भने सहरमा जन्मिएर गाउँले परिवेश नदेखेकालाई रिसोर्टका कोठामा सजाइएका हरेक सामानले मौलिकता झल्काउँदै गाउँले जीवनसँगको अनुभव साट्न सहज बनाउँछ।
बेडसँगै हात्ती आकारमा बनाइएका इन्टेरियर डिजाइनले अझ पृथकता दिएको छ। बाथरुम डिजाइन र त्यहाँ राखिएका ‘ट्वाइलेटरिज‘ अनि ह्याडमेड बाथटपले पाहुनाको ध्यान तुरुन्तै खिच्छ।
कोठाको एकातर्फ निकुञ्ज नियाल्न मिल्ने बार्दली छ भने अर्कातर्फ ढोकाबाहिर पिंढीमा ओछ्याइएका गुन्द्री(सुकुल)मा बसेर चियाउँदा विभिन्न चराचुरुंगी लज परिसरमा रोपिएका बिरुवाको फल खाँदै रमाएको देख्न सकिन्छ। फराकिलो स्वीमिङ पुल लजको अर्को आकर्षण हो। पाहुनाको रुचिअनुसार स्वीमिङमा डुबुल्की पार्दैै बियर बारमा रमाउने, डुंगाको ट्रेमा ‘पुल ब्रेकफास्ट’ गर्ने वा पौडेरै रमाउने विभिन्न विकल्प छन्। अनलिमिटेड चिया र कफीको चुस्कीले पाहुनाको मन आनन्दित तुल्याउन सक्छ।
लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ। क्याडल लाइट डिनरमा अभ्यस्त पुस्तालाई लालटिन उज्यालोमा डिनर गराएर लजले विदेशी पाहुनालाई समेत नेपाली परम्परा सिकाएको छ। लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाच देखाइन्छ। इच्छुक पाहुनाले सांस्कृतिक भेषभूषा लगाएर फोटो खिच्न पनि पाउँछन्। लज परिसरकै जंगलको एक कुनाको झाडीमा तीन सय बढी लालटिनको सजावट अनि त्यसैको मन्द उज्यालोमा साथीभाइ, आफन्त वा प्रियजनसँग प्रेमिल वार्तालापमा रमाउँदै ‘डिनर‘ गर्नुको अनुभव सायदै अन्त कहाँ पाइएला?
जंगल सफारीमा चितुवासँग जम्काभेट
जंगल सफारीमा रमाउन चाहनेहरुको मुख्य इच्छा बाघ या चितुवा देख्न पाए हुन्थ्यो भन्ने हुन्छ। सफारीका क्रममा बाघ, चितुवा नदेखिए पनि गैंडासम्म देख्न पाउने आसमा सबैका आँखा दौडिरहेका हुन्छना्। संयोग के भने पुस अन्तिम साता एक दर्जन पत्रकारलाई जंगल सफारीमा लगिएका बेला चितुवासँगको जम्काभेट अझै मानसपटलमा ताजै छ।
सफारीमा सहभागीमध्येका टुरिजम पानाका सञ्चालक विष्णुकान्त घिमिरेले धेरै पटक यात्रा गरे पनि पहिलोपल्ट चितुवा देख्न पाउँदा प्रफुल्लित भएको अनुभव सुनाए। हुन पनि त्यसअघिका धेरै ट्रिपमा बाघ वा चितुवा भेटिएका रहेनछन्। पुसको ठिहिर्याउँदो जाडोमा रुखको हाँगामा घाम तापेर बसेको चितुवा देख्दा सबैले एकोहोरो यसरी हेरे, मानौं उनीहरुले आँखा झिम्क्याउनै बिर्सिएझैं लाग्थ्यो।
करिब ५ मिनेटसम्मको साक्षात्कारपछि चितुवाले सायद मानिसले हेरिरहेका छन् भन्ने थाहा पाएरै होला, बसाइ बदलेर जंगलभित्र छिर्यो। जंगली हात्ती, गैंडा, मृगका बथान, विभिन्न चराचुरुंगी, देवीतालको किनारमा सुस्ताइरहेका गोही हेर्दै बिताएको ४ घन्टा मानसपटलमा ताजै रहनेछ।
बोट सफारीबाट सूर्यास्त हेर्न गोलाघाट
राप्ती नदीमा काठको डुंगामा सयर गर्दै नारायणी भेट्न पुगिने यात्रा लजको अर्को महत्त्वपूर्ण गतिविधि हो। नेचर गाइडसँगै रहेका पाहुनाले डुंगामै बसेर दर्जनौं चराचुरुंगी र विभिन्न जनावर अवलोकन गर्दै र तिनबारे जानकारी लिँदै बोटिङ गर्दा रमाइलो यात्रानुभूति हुन्छ।
नारायणी र राप्ती संगमस्थल गोलाघाटमा बाराही जंगल लजका कर्मचारीले अस्थायी भान्सा तयार पारेर स्वादिष्ट परिकारसँगै सूर्यास्त अवलोकन गराउँछन्। इच्छाअनुसार पाहुनाले सुर्योदयको समयको प्याकेजसमेत बुकिङ गर्न सक्छन्।
लोभलाग्दो हस्पिटालिटी
हुन त, हरेक होटलमा गरिने आतिथ्यमा सबैका आ–आफ्नै शैली हुन्छन्। पाहुनालाई स्वागतदेखि बिदाइसम्म होटल कर्मचारीले गर्ने व्यवहारबाटै त्यहाँको आतिथ्य कस्तो छ भनेर दर्शाउँछ। जनरल म्यानेजरदेखि सामान्य कर्मचारीको बाराहीका कर्मचारीको मृदुभाषी र सहयोगी शैलीले सबै पाहुनालाई आत्मीय अनुभूति दिलाउँछ।
हस्पिटालिटीमा बाराही ग्रुपको अहिलेसम्मको साम्राज्य कायम हुनुको महत्त्वपूर्ण कारण उत्कृष्ट आतिथ्य नै हो। अझ होटल प्रवेश गर्नेबित्तिकै गरिने आत्मीय स्वागत र ‘लेमन ग्रास’ चियाले गाडीबाट पुग्दाको अल्छीपनालाई फुर्तिलो बनाइदिन्छ।
इको सर्टिफाइड लज
बाराही जंगल लज ‘टफ्ट टाइगर‘ अन्तर्गत इको सर्टिफाइड लज पनि हो। यो सन् २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्यान्डिङ प्राक्टिस) विधाअन्तर्गत सर्टिफाइड हुँदै आएको छ। हालै ‘आईएसओ–१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इनभाइरोमेन्टल म्यानेजमेन्ट सिस्टम (इएमएस) सहितको लजको रुपमा बाराही सर्टिफाइड भएको छ।
बाराही कसरी पुग्ने
महेन्द्र राजमार्गको मध्य भागमा रहेको चितवनको भरतपुर विमानस्थल नजिकैको चौबिसकोठी चोकबाट ३२ किलोमिटर पक्की बाटो दक्षिण हानिएपछि मेघौली पुगिन्छ। आफ्नो साधन नभए सार्वजनिक सवारीमा जान सकिन्छ वा लजमा प्रि– बुकिङ गरेर सशुल्क पिक एन्ड ड्रप सुविधा लिन सकिन्छ। काठमाडौंबाट मेघौलीका लागि सीधा माइक्रोबस पनि पाइन्छ।
कति लाग्छ अनुमानित खर्च
आवास, खानपिन, जंगल सफारी, बोट सफारी, भिलेज वाक अथवा जंगल वाकको प्याकेजमा जाँदा नेपाली पाहुनाको जोडीको २ रातको करिब ७० हजार रुपैयाँ तिर्नुपर्छ। समयअनुसार मूल्य केही थपघट हुन सक्छ। यात्राका लागि आफ्नो बजेट र सुविधाअनुरुपको विकल्प छनोट गर्न सकिन्छ।