काठमाडौं। अर्थमन्त्री फेरिएसँगै मन्त्रालयभित्र व्यापक कर्मचारी सरुवाको तयारी थालिएको छ। खासगरी आफू अनुकूल कर्मचारी ल्याएर बजेट बनाउने तयारीमा लागेका अर्थमन्त्री वर्षमान पुन गठबन्धनलाई सहयोग गर्ने खाले कर्मचारीको खोजीमा लागेका हुन्।
मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई सरुवा गरी राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई ल्याउने तयारी छ।
यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई सरुवा गरी वन मन्त्रालयअन्तर्गतको वातावरण विभागमा महानिर्देशक रहेका सहसचिव शिवलाल तिवारीलाई ल्याउने तयारीमा अर्थमन्त्री लागेका छन्। २०६८ मा पुन अर्थमन्त्री हुँदा तिवारी स्वकीय सचिव थिए। बराल माघ २० मा महानिर्देशक बनेका हुन्।
अहिले अर्थ मन्त्रालयको महत्त्वपूर्ण महाशाखामा यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू निकटका कर्मचारीलाई राखेको भन्दै पुनले हेरफेर गरी माओवादी निकटका कर्मचारी ल्याउन लागेका हुन्। खत्री र बराल कांग्रेस निकट हुन्।
‘अहिले अर्थमन्त्री सकेसम्म माओवादी निकटका कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारीमा लाग्नुभएको छ,’ एक अधिकारीले भने, ‘त्यसो नभए गठबन्धनसँग आस्था राख्ने कर्मचारी भए पनि हुन्छ भनेर खोजीमा लाग्नुभएको छ।’
अहिले ल्याउन खोजिएका सहसचिव सबै माओवादी निकटका हुन्। त्यसैले पनि अर्थमन्त्री पुनले आफू अनुकूल बजेट बनाउन सकिन्छ भन्ने आकलन गरेका छन्।
१० दिनभित्र सरुवा गर्न नसके अहिलेकै कर्मचारीबाट गर्नुपर्ने भएकाले पनि आफू निकटका कर्मचारी ल्याउन अर्थमन्त्री पुन लागिपरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमुखी र जनमैत्री बजेट ल्याउन अर्थमन्त्री पुनलाई निर्देशन दिइसकेका छन्। यसअघिका अर्थमन्त्री महतले आफूलाई सहयोग नगरेको र गत वर्षको बजेटमा पनि आफ्नो सुझाव बेवास्ता गरेको प्रधानमन्त्री दाहालले यसअघि नै गुनासो गरेका थिए। सोही कारण अहिलेका अर्थमन्त्रीलाई प्रधानमन्त्री अनुकूल बजेट ल्याउनुपर्ने अर्को चुनौती थपिएको छ।
अर्थमन्त्री पुन प्रधानमन्त्री दाहालका विश्वास पात्र मानिन्छन्। सोही कारण बजेट महाशाखा, राजस्व विभागलगायत ठाउँमा विश्वासिला र आफूले भनेको मान्ने कर्मचारी ल्याउन अर्थमन्त्री पुनले होमवर्क गरिरहेको ती अधिकारीको भनाइ छ।
अर्थमन्त्री पुनले महाशाखा प्रमुख मात्र हैन, आवश्यक परे सचिव समेत परिवर्तन गर्ने तयारी थालेका छन्। यद्यपि कुन कुन सचिव परिवर्तन गर्ने र कसलाई ल्याउने भन्ने निर्णयमा भने पुगिनसकेको ती अधिकारीले क्यापिटल नेपाललाई जानकारी दिए।