काठमाडौं। नेपाली कांग्रेस सम्मिलित सरकारले आर्थिक सुशासन र मितव्ययीतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको पूर्वअर्थमन्त्री डा. प्रकाशरण महतले बताएका छन्।
कांग्रेससँगको सहकार्य टुट्नुमा आफ्नो नाम जोडिएको भन्दै पूर्वअर्थमन्त्री महतले आर्थिक सहायता जथाभावी बाँड्न नहुने र गर्नैपर्ने ठाउँमा मात्रै सहयोग गर्नुपर्छ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग गरेको भयो भनेर प्रश्न गरेका छन्।
कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा र दुरुपयोग नगर्दा प्रधानमन्त्रीलाई ठहर्छ भने मेरो भन्नु केही छैन।’
कांग्रेसका कारण उपलब्धि भएन भनेर भ्रम छरिए पनि जथाभावी खर्च गर्ने प्रवृत्तिमा आफूले अंकुश लगाएको महतले गर्वका साथ स्वीकारे।
पत्रकार सम्मेलनमा अर्थतन्त्रकै विषयमा केन्द्रित भएका महतले अर्थतन्त्र सुधारको प्रयासलाई आगामी बजेटमा अझै गति दिने योजना भए पनि बीच बाटोबाटै हट्नुपरेको बताए। मुलुक अप्ठेरो स्थिति रहेको भन्दै सीमित स्रोत–साधनलाई जथाभावी खर्च गर्न नहुनेमा पनि उनले जोड दिए।
चिनियाँ ऋण र अनुदान लिन अर्थमन्त्रीले नमानेको भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म प्रधानमन्त्री कि अर्थमन्त्री?’
सरकारले जति उपलब्धि हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको उनको भनाइ थियो। आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदाको आर्थिक सूचकांकको अवस्था र पछिल्लो अवस्थाको तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको बताए।