काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा नेपालको आर्थिक रुपान्तरणमा महिलाको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ।
वमेन लिडरसिप इन रोटरी, रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनामा भएको छलफलमा विभिन्न अर्थविद्ले डिजिटलको जमानाअनुसार समावेशीकरणको माध्यमबाट आर्थिक रुपान्तरण तथा स्थायित्व कायम गर्न महिलाको भूमिका अहं हुने बताएका हुन्।
रोटरी वर्ष २०२४/२५ का गभर्नर रोटरियन राजेन्द्रमान शेरचनको प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्र बैकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तोताको रुपमा मुलुकको आर्थिक विकासमा महिलाको योगदान धेरै रहेकाले थप क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।
कृषि, उद्योग क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा घट्दै गएकाले यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ।
उत्पादन बढाउन दीर्घकालीन नीति आवश्यक भएको र आर्थिक विकासका लागि हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा अर्थशास्त्री तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले संरचनात्मक रुपान्तरणले आर्थिक रुपान्तरण गर्न सकिने औंल्याए।
बजेटमार्फत अगाडि सारिएका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनमा आउन नसक्दा आर्थिक विकासका पर्याप्त उपलब्धि हासिल हुन नसकेको, राज्यका हरेक क्षेत्रमा महिला सहभागिता भए पनि तिनको भूमिका सशक्त हुन नसकेको उनले बताए।
‘भियतनाम, बगंलादेश, भारतलगायतका देश प्रतिव्यक्ति आयमा अगाडि भए पनि नेपाल धेरै पछि परेको छ’, उनले भने, ‘राजनीति सुधार गरेर मात्र आर्थिक विकास गर्न सकिन्छ।’
देशको आर्थिक विकासका लागि ऊर्जामा लगानी, उच्च मूल्य भएका वस्तुको उत्पादनमा वृद्धि, महिला उद्यमशीलता बढाउन कर छुटको व्यवस्थासँगै हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग बढाउँदै लैजान सके आर्थिक रुपान्तरण हुन सक्ने धारणा उनको थियो।
कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकको आर्थिक रुपान्तरण गर्न महिलाको आर्थिक क्रियाकलापमा सहभागिता बढाउँदै लैजानुपर्ने बताए।
विगतको तुलनामा हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको र आर्थिक क्षेत्रको विकास नभई मुलुकको विकास नहुने हुँदा नीतिगत तहमै महिलाको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औंल्याए।
‘महिलाहरु उद्यमी बनेर धेरैलाई रोजगार उपलब्ध गराउन सके आर्थिक विकासमा यसले ठूलो योगदान पुर्याउँछ,’ उनले भने।
कार्यक्रममा वमेन लिडरसिप इन रोटरी आरआई डिस्ट्रिक्ट ३२९२ का चेयर रोटरियन हेमाकुमारी अधिकारीले विश्व तथा नेपालमा विभिन्न अनुसन्धानबाट निस्किएका महिलाको अवस्थाबारेको तथ्यांक प्रस्तुत गरेकी थिइन्। महिला बैंकर आरती राणाले महिलाको भूमिका, सहभागिता तथा आर्थिक विकास विषयमा धारणाा व्यक्त गरिन्।
कार्यक्रममा पीडीजी एकेएस एन्ड वमेन लिडरसिप इन रोटरीका प्याट्रन रोटरीयन रोटरियन जया राज्यलक्ष्मी शाहले विशेष मन्तव्य तथा रोटरी डिस्ट्रिक्ट ३२९२, रोटरी वर्ष २०२४/२५ का गभर्नर रोटरीयन राजेन्द्रमान शेरचनले समापन मन्तव्य राखेका थिए।
कार्यक्रममा रोटरीयन, बैंक तथा वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व तथा काठमाडौंका विभिन्न कलेजका विद्यार्थीसहित करिब ३०० सहभागी थिए।