काठमाडौं– नयाँ समीकरणपछि सरकारलाई टिकाउन र राष्ट्रिय सभा अध्यक्षमा मत दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सातबुँदे सहमति भएको छ।
नेकपा एसका अध्यक्ष नेता नेपालको माधवकुमार नेपालको हस्ताक्षरसहित नयाँ सहमति बनेपछि सत्ता गठबन्धन पाँचदलीय भएको हो। मंगलबार बसेको सत्ता गठबन्धनको सिंहदबार बैठकपछि सातबुँदे सहमति सार्वजनिक गरिएको हो।
पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो। नयाँ सहमतिपत्रमा राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटाइएको छ।
यसअघि सोमबार मात्रै लिखित सहमति नहुन्जेल सरकारलाई विश्वासको मत नदिने अडानमा रहेको सत्तारुढ नेकपा एसका अध्यक्ष नेता नेपाललाई मनाउन प्रधानमन्त्री प्रचण्ड एवं एमाले अध्यक्ष ओलीबीच त्रिपक्षीय वार्ता भएको थियो।
यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार संघीय संसद्मा लिन लागेको विश्वासको मत, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।
प्रधामन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन्।
फागुन २१ मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ।
सत्ता गठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो।