काठमाडौं। नेपालको फ्रुडेन्ट बैंक स्ट्याण्डर्ड चार्टर्डले कर्णाली र सुदूरपश्चिममा व्यावसायिक सम्भावना देखेको छ। दुई प्रदेशमा भइरहेको आर्थिक गतिविधिलाई थप बढाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले त्यहाँ आफ्नो उपस्थिति जनाउने भएको हो।
आर्थिक मन्दीको प्रभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरु शाखा बन्द गर्ने प्रक्रियामा गइरहेका बेला स्ट्याण्डर्ड चार्टर्डले नयाँ सम्भावना पहिचान गरेर जान लागेको हो।
बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालको दुर्गम भनिएका क्षेत्रमा व्यवसाय विस्तार गर्न नयाँ शाखा सञ्चालनमा ल्याउने प्रकृया अघि बढाएको हो।
सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नीति लिएर सोहीअनुसार नयाँ शाखा विस्तार गर्न अग्रसर भएको हो। बैंकले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ शाखा विस्तार गर्न लागेको बैंकका कम्पनी सचिव गोपी भन्डारीले जानकारी दिए।
‘सबै स्थानीय तहमा उस्थितिको लागि नपुगेको कर्णाली र सूदुरपश्चिम प्रदेशमा बैंक पुग्ने योजना बनाएका हौं,’ बैंकका कम्पनी सचिव भन्डारीले क्यापिटल नेपालसँग भने, ‘यी प्रदेशको राजधानी विरेन्द्रनगर र धनगढीमा नयाँ शाखा खोल्न राष्ट्र बैंकमा आवेदन दिएका छौं।’ बैंकले उक्त क्षेत्रमा व्यवासायिक सम्भाव्यता अध्ययन गरेर नयाँ शाखा विस्तार गर्न लागेको भन्डारीले जानकारी दिए।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा थोरै शाखा कार्यालय भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक हो। पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल ५ हजार ४९ वटा शाखा हुँदा स्ट्यान्डर्ड चार्डर्टको १५ वटा मात्रै छ। जसमा ३ वटा विस्तारित काउन्टर हो भने, १२ वटा शाखा कार्यालय हुन्।
बैंकले नयाँ खोल्न लागेको धनगढी र विरेन्द्रनगरको शाखा कार्यालयमार्फत् नयाँ व्यावसायिक योजनाहरु अघि बढाउने भन्डारीले बताए। ‘अन्य बैंकहरुको तुलनामा हाम्रो शाखा कम छ, अन्तर्राष्ट्रिय बैंकको प्रतिनिधित्व बैंक भएकोले पनि शाखा कम भएको हो,’ उनले भने, ‘अब भने सबै प्रदेशमा बैंकको उपस्थिति भएसँगै भविष्यमा त्यहाँको आर्थिक वृद्धिको समभ्यता अध्ययन गरेर व्यावसायिक रणनीति बनाएर अघि बढ्छौं।’
नयाँ विस्तार हुन लागेको नयाँ शाखाबाट ग्राहकहरूलाई बैंकको सबै प्रोडक्टहरु र डिजिटल तथा स्मार्ट सेवा प्रदान गरिने उनले जानकारी दिए।हालसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखाहरु काठमाडौं उपत्यकामा चुच्चेपाटी बौद्धमा, लाजिम्पाटमा, नयाँ बानेश्वरमा, जावलाखेल ललितपूरमा र बसन्तपूर दरबार स्क्वारमा बैंकको शाखा सञ्चालनमा छन्।
उपत्यका बाहिर चितवनको नारायणगढ, वीरगंजको आर्दशनगर, बुटवल रुपन्देहीको मिलनचोक, सुनसरीको धरान, मोरङ बिराटनगर, पोखराको न्यूरोड र सुर्खेत नेपालगञ्ज बैंकको शाखा कार्यालय सञ्चालनमा छन्। साथै, काठमाडौं महाराजगञ्जको अमेरिकन दूतावास, ललितपूरको यूनएन बिल्डिङ र पोखराको ब्रिटिस गोर्खामा बैंकको विस्तारित काउन्टर सञ्चालनमा छन्।