काठमाडौं। सेयर कारोबार सिथिल हुँदै गएसँगै धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)हरु ग्राहक खोज्दै स्कुल, कलेज र चोकचोकमा भौंतारिन थालेका छन्। आफ्नो ब्रोकरको ब्रोसर लिएर स्टक ब्रोकरमा काम गर्ने कर्मचारी नयाँ लगानीकर्ताको खोजीमा लागेका हुन्। पछिल्लो एक वर्षदेखि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) न्यून बिन्दु (१८०० देखि २२००)का बीचमा रुमल्लिरहेको छ। धेरैले अबको केही समयमै बजारले गति लिने बताउँदै आएका छन्। खासगरी नयाँ ब्रोकर कम्पनीहरुमा ग्राहकको संख्या न्यून छ। ब्रोकरहरुले विज्ञापन गर्न नपाउनेलगायत कारणले ग्राहक खोज्न अप्ठेरो भइरहेको स्थितिलाई चिर्दै विभिन्न क्षेत्रमा ग्राहकको खोजी गर्दै स्टक ब्रोकरहरु फिल्डमै उत्रिएका हुन्।
नयाँ स्टक ब्रोकरहरु चियापसल, खाजाघर, तरकारी पसल तथा सडकमै पुग्न थालेका हुन्। ब्रोकर कम्पनीका कर्मचारीहरु ब्रोसर बोकेर आफ्नो ब्रोकरले दिने सुविधा र अफरहरु ग्राहकलाई सुनाइरहेका हुन्छन्।
अहिले बजार शिथिल भएका बेला ग्राहक बनाउन सके बजार बढ्दा उनीहरुले कारोबार गर्ने र त्यसको लाभ ब्रोकरले उठाउन सक्ने आँकलन ब्रोकरहरुको छ। सोही कारण नयाँ स्टक ब्रोकरहरु चियापसल, खाजाघर, तरकारी पसल तथा सडकमै पुग्न थालेका हुन्। ब्रोकर कम्पनीका कर्मचारीहरु ब्रोसर बोकेर आफ्नो ब्रोकरले दिने सुविधा र अफरहरु ग्राहकलाई सुनाइरहेका हुन्छन्। त्यतिमात्रै होइन, आफ्नो कम्पनीमा आएर डिपी खाता खोल्न, आफ्नैबाट टिएमएस लिएर कारोबार गर्न र आफ्ना साथीभाईहरुलाई पनि आफ्नो ब्रोकरको विषयमा ‘सजेष्ट’ गरिदिन आग्रह गरिरहेको पाइन्छ।
उनीहरुले आफ्नो कम्पनीमार्फत् टेक्निकल विश्लेषणको सुविधा पाउन सकिने भएकाले अन्य मानिसलाई पनि यही ब्रोकरबाट खाता खोल्न सुझाव दिन भनिरहेका थिए। पछिल्लो समय अनुमति पाएका नयाँ ब्रोकरहरु यसैगरी ग्राहक खोजेर व्यवसाय विस्तार गर्न लागि परेका छन्। कतिपय ब्रोकरले फोन गरेरसमेत आफ्नो सेवा सुविधा बताउँदै खाता खोल्नका लागि आग्रह गरिरहेका छन्। तर, यसरी ब्रोकर र उसका सेवा सुविधाको प्रचारप्रसार गर्न नियामकले रोक लगाएको छ। सेबोनका कार्यबाहक अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक डा. नवराज अधिकारी स्टक ब्रोकरहरुले आफ्नो प्रचार गर्ने ढंगबाट कुनै पनि प्रकारको गतिविधि गर्न नपाउने बताउँछन्। ‘कुनै पनि ब्रोकरले आफ्नो ग्राहक बन्नका लागि आग्रह गर्दै प्रचारप्रसारमा हिँडेको प्रमाणसहित भेटिएमा सत्यतथ्य बुझेर बोर्डले कारबाहीको प्रक्रिया तत्काल अघि बढाउँछ,’ अधिकारी भन्छन्, ‘यस्तो कार्य गर्न पाइँदैन।’
सेबोनले कानुनी रुपमा नै रोक लगाए पनि नयाँ स्टक ब्रोकरले भने आफ्नो व्यवसाय विस्तारका लागि आफ्नो कम्पनीबारे प्रचारप्रसार गर्दै हिँडेका छन्।
सेबोनले कानुनी रुपमा नै रोक लगाए पनि नयाँ स्टक ब्रोकरले भने आफ्नो व्यवसाय विस्तारका लागि आफ्नो कम्पनीबारे प्रचारप्रसार गर्दै हिँडेका छन्। यस सन्दर्भमा नयाँ ब्रोकर एसोसियसनका अध्यक्ष समेत रहेका हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नम्बर ६३)का अध्यक्ष सागर ढकाल विज्ञापन गर्न नपाउने भए पनि जनचेतना फैलाउने ढंगबाट स्टक ब्रोकरहरुले उक्त कार्य गरेको बताउँछन्। ‘बजारमा अझै आठ दश वटा नयाँ ब्रोकर आउनै बाँकी छ। नयाँ आएकाहरुले विस्तारै बजारीकरण गर्दै जानु भएको छ,’ उनी भन्छन्, ‘सबैले दिगो हुन र टिकाउ हुनका लागि एक किसिमको संघर्ष गर्नुपर्ने अवस्था छ। पुरानालाई आकर्षण गर्ने भन्दा पनि नयाँ लगानीकर्तालाई आकर्षण गर्ने ढंगमा विभिन्न ठाउँमा जाने र भिजिट गर्ने कामहरु चलिरहेको छ।’
ढकालका अनुसार नयाँ ब्रोकरहरुले विद्यालय, क्याम्पसतिर पनि यस्तो काम गरीरहेका छन्। नयाँ भएकाले सबैतिर भेटघाट गर्ने र आफ्नो वरिपरि जानकारी दिने काम गरिएको ढकालले बताए।
‘ब्रोकरहरुले घरदैलो गर्ने र जनचेतना फैलाउने काम गर्न सक्छन्। विज्ञापन भने नगर्ने भन्ने हो। जनचेतना फैलाउने हिसाबमा भने गर्न मिल्छ,’ ढकाल भन्छन्, ‘राज्यले गर्नुपर्ने ठाउँमा हामी ब्रोकरहरुले जनचेतना फैलाउने यस्ता काम गरिरहेका छौं। हाम्रो व्यवसाय ग्राहक बढाउने व्यवसाय भएकाले पनि यस्तो गर्न बाध्य हुनुपर्ने अवस्था छ।’
स्टक ब्रोकर एसोसिएनका अध्यक्ष धर्मराज सापकोटा बजारको आकारभन्दा ठुलो संख्यामा ब्रोकरलाई अनुमति दिएकाले प्रचारप्रसारमा आउनुपर्ने बाध्यता भएको बताउँछन्।
स्टक ब्रोकर एसोसिएनका अध्यक्ष धर्मराज सापकोटा बजारको आकारभन्दा ठुलो संख्यामा ब्रोकरलाई अनुमति दिएकाले प्रचारप्रसारमा आउनुपर्ने बाध्यता भएको बताउँछन्। ‘हाल बजारको आकारभन्दा धेरै कम्पनीलाई अनुमति दिएको अवस्था छ। यो गलत छ वा छैन भनेर भन्ने काम नियामकको हो। मैले यसमा केही बोल्न मिल्दैन,’ अध्यक्ष सापकोटा भन्छन्, ‘पुँजी बढाएको अवस्था एकातर्फ छ भने अर्कोतर्फ बजारमा धेरैलाई अनुमति दिएको अवस्था छ। यसले बजारमा टिक्न पनि ब्रोकर कम्पनीहरुले बजारीकरण गर्न बाध्य भएकोजस्तो देखिन्छ।’ सेयर किनबेच गर्ने कम्पनीहरुले आफ्नो सेवा सुविधा र फाइदाका विषय उल्लेख गर्दै विज्ञापन गर्न पाइँदैन। तर, मर्चेन्ट बैंकको पनि सेवा प्रदान गर्नेहरुले भने उक्त किसिमको कार्य गरिरहेका छन्। कतिपयले गरे पनि नियामकले यसबारे स्पष्ट भन्न आवश्यक भएको अध्यक्ष सापकोटा बताउँछन्।