काठमाडौं। हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले पराजित गरेर फाइनलमा पुगेको छ। नेपाल २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।
आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि ११३ रन मात्रै बनाउन सक्यो।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए। यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाए।
पीएनजीले आज केही बरेपछि हुने अर्को खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल विजेताले फाइनलमा बुधबार नेपालसँग खेल्नेछ भने पराजित टोलीले हङकङ एको सामना गर्नेछ। हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत जाने कार्यतालिका छ।
भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। टी–२० विश्वकपको नवौं संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदै छ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको नवौं संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। सोही क्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो।