काठमाडौं। कर्णाली पुलमा ट्रकबाट आगलागी हुँदा पुलका सपोर्ट डोरीमा क्षति पुगेको छ। सोसँगै प्रशासनले प्राविधिकबाट पुलको परीक्षण नगरी पुलमा सवारीसाधन चल्न नपाउने जानकारी गराएको छ। मुलुकका अन्य प्रदेशबाट सुदूरपश्चिम जान तथा सुदूरपश्चमबाट अन्य प्रदेश जान वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले भनेको छ।
काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो। लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो ४ घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा ल्याउन सकिएको हो। आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ।
आइतबार अपराह्न वीरगञ्जबाट ११ सय कार्टुन लाइटर बोकेर हिँडेको ट्रक सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रक चालक जगनाथ जोशीले बताए। 'हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ। त्यहाँ चिट दिएर अगाडि बढ्यौं। गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ। पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो' उनले भने। चालक जोशीले चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अंकल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ, ट्रक थोरै पछाडि लिए। पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन।'
पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको ११ सय कार्टुन लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए। आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए। दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन्। आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। आगलागीबाट १ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको लाइटर जलेको छ।
ट्रकसमेत पूर्णरूपमा जलेको छ। चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार रुपैयाँ पनि जलेको बताए। नगद र सामान गरी १ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ। एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो। एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए।