काठमाडौं। सत्ता समीकरणमा फेरबदल भएसँगै सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस कोटाका तीन वटा प्रदेश प्रमुखलाई पदमुक्त गर्नुका साथै गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई ल्याएको छ।
कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त प्रदेश प्रमुखलाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो।
गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए। सरकारले तीन वटा प्रदेश प्रमुखमा नयाँलाई सिफारिस गरेर राष्ट्रपतिकहाँ पठाएको छ।
मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर यसो गरिएको हो’, सञ्चारमन्त्री उनले भनिन्। तीनै जना प्रदेश प्रमुख एमाले निकटका हुन्।
यस्तै, सरकारले गृहसचिवमा अर्याललाई सरुवा गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अर्याललाई गृहमा ल्याएर गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ।