नवलपरासी। सांसद एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै उनले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न निर्देशन दिएका हुन्।
पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा उनले सरकारी निकाय, स्थानीय तह र निर्माण व्यवसायीसँग छलफल गरेका थिए।
छलफलमा चौधरीले भने, ‘विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा हामीले निरन्तर समन्वय गर्दै आएका छौं। स्थानीय तह होस् वा प्रदेश सरकार। त्यहाँ पनि हाम्रा तर्फबाट निरन्तर समन्वयको काम भइरहेको छ। तर, के कारणले आयोजनाको काम अपेक्षाकृत हुन सकेको छैन। यसमा गम्भीर बन्न जरुरी छ।’
नवलपरासी १ बाट प्रतिनिधिभा सदस्य निर्वाचित सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिन जोड दिए। उनले भने, ‘हाम्रो तर्फबाट कहाँ–कहाँ सहजीकरण गर्नुपर्छ, म तयार छु। तर, अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन।’
सांसद चौधरीले परियोजना सम्पन्न गर्ने मिति नै निश्चित गरेर काम गर्न निर्माण व्यवसायीसँग आग्रह गरे।नवलपरासीबाट निर्वाचित भएपछि सांसद चौधरीले जिल्लाको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल गर्दै आएका छन्। उनले विकासका कामलाई गति दिन सबै पक्षसँग आयोजनाको प्रगति र समस्याबारे पनि सरोकारवालासँग छलफल गरिरहेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति उनले असन्तुष्टि जनाए। ‘विगत सात वर्षदेखि काम थालिएको हुलाकी सडकको काम पनि वर्षाैंदेखि धीमा गतिमा भइरहेको छ। बुटवल–नारायणगढ सडक खण्डको काम पनि उस्तै छ’, सांसद चौधरीले भने, अब एकअर्कालाई आरोप लगाएर हुँदैन। सबैले जिम्मेवारीबोध गरेर अगाडि बढौं।’
बुटवल–नारायणगढ सडक खण्डको काम पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखि सुनवल नगरपालिकासम्म करिब ४७ प्रतिशत सकिएको आयोजना कार्यालयले जनाएको छ।
निर्माण व्यवसायीका प्रतिनिधिले आवश्यक निर्माणजन्य सामग्री र नदीजन्य वस्तु अभावका कारण काममा ढिलाइ भएको गुनासो गरेका थिए। तर, स्थानीय तहका जनप्रतिधि र सरकारी अधिकारीले भने निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्दै आएको आरोप लगाए। सांसद चौधरीले भने, ‘नवलपरासीको विकासका लागि व्यवस्थित खाका बनाएर अगाडि बढेका छौं।’