काठमाडौं। उद्योग संगठन मोरङले बंगलादेश र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसाय प्रवर्द्धन, विकास, पर्यटनलगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ।
संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न राजदूतसमक्ष आग्रह गरे।
अध्यक्ष सुरानाले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिँदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र्यालीका साथै दुई देशका उद्योगीबीच सम्बन्ध विस्तारका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरे।
सो अवसरमा बंगलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले दुई मुलुकबीच धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेकाले औद्योगिक तथा व्यवसायीबीचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर रहेको बताए।उनले निर्यातमा देखिएका समस्या समाधान लागि आफ्नो तर्फबाट पहल र प्रयास रहने स्पष्ट पारे।
राजदूत चौधरीले दिपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्याली आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै बंगलादेश दूतावासका तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारी, कार्यसमिति सदस्य र नेपालका लागि बंगलादेश दूतावासका प्रतिनिधि सहभागी थिए।