काठमाडौं। गत साता राजनीतिक हिसाबले निकै उतारचढावपूर्ण रह्यो। कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोगमा नयाँ मन्त्री परिषद बनाएसँगै अर्थ मन्त्रालको बागडोर वर्षमान पुनको हातमा पुगेको छ। केही दिनदेखि निरन्तर घटेर फेरि न्यून बिन्दुतिर लम्किएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत साता सत्ता गठबन्धन परिवर्तनमा सकारात्मक हुँदै ५८ अंकले बढेर २०३०.५५ बिन्दुमा चढेको छ। फागुन १७ गते बिहीबार नेप्से १९७२.०९ बिन्दुमा थियो।
गत साताको पहिलो दिन ११.७८ अंकले घटेको नेप्से सोमबार एमाले–माओवादीको सरकार बन्दा अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चाले नेप्से ६ प्रतिशत अर्थात् ११७.७० अंकले बढ्न पुग्यो। तर, मंगलबार फेरि अर्थमन्त्रीमा माओवादीका वर्षमान पुन आउने चर्चाले सूचक ७०.३१ अंकले घट्यो। तथापी अर्थमन्त्री पुन बन्ने निश्चितता र अर्थ मन्त्रालय सम्हालेसँगै बुधबार ९.३३ अंक र बिहीबार १३.५१ अंंकले नेप्से सुधारियो।
सरकारमा आएको फेरबदलसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाप पर्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रप्रति सकारात्मक रहेको पुनको अर्थ मन्त्रालय आगमनले लगानीकर्तामा नयाँ उत्साह थपिने अनुमान गरिएको छ र गत साताका दुई दिन भएको सामान्य वृद्धिलाई त्यसैको द्योतक मानिएको छ। अर्थमन्त्रीको जिम्मेवारी लिएपछि अर्थमन्त्री पुनले दिएका अभिव्यक्ति हेर्दा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ। अर्थमन्त्री पुनलाई लगानीकर्ताले विश्वास गरेको भए बजार सूचक बिनाअवरोध १५०–२०० अंकमाथि जानसक्छ।
सेयर लगानीकर्ता देव गुरागाईं सत्तारुढ दलमा आएको परिवर्तनसँगै बजार केही चलायमान हुन खोजेको बताउँछन्। ‘आन्तरिक आर्थिक स्थिति बिग्रिए पनि अर्थतन्त्रका बाह्य सूचक र मौद्रिक सूचकहरु सकरात्मक छन््,’ गुरागाईं भन्छन्, ‘सेयर बजारलाई बढी मौद्रिक सूचकहरुले प्रभाव पार्छन्। कोरोना महामारीको समयमा सबै ठप्प हुँदा त अर्थतन्त्र सुध्रिएको थियो भने अहिले त त्यस्तो छैन। त्यसैले बजार सुध्रिएर जानुको विकल्प छैन।’ तथापी पुँजी बजारका विषयमा नीतिगत सुधार तत्कालै अघि नबढाए लगानीकर्ताको मनोबल उठ्न नसक्ने हुँदा सरकारले चनाखो भएर काम गर्नुपर्नेमा गुरागाईको जोड छ। ‘विदेशी साझेदार ल्याएर वा मुलुककै निजी क्षेत्रलाई भित्र्याएर नेप्सेको पुनर्संचना गर्नु आवश्यक छ’, गुरागाईले भने।
सेयर बजारमा वर्षौंदेखि वैदेशिक लगानी भित्र्याउने कुरा चले पनि व्यवहारमा बाटो खोलिएको छैन। गैरआवासीय नेपालीलाई सेयरमा लगानी गर्ने बाटो अझै खुलेको छैन।
नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ। तत्काल क्षमतावान तथा विषयका जानकार अध्यक्ष नियुक्त गर्नुपर्छ। प्रक्रिया सुरु गरिए पनि राजनीतिक दाउपेचले बिलम्ब गर्नु हुँदैन। सेयर बजारमा वर्षौंदेखि वैदेशिक लगानी भित्र्याउने कुरा चले पनि व्यवहारमा बाटो खोलिएको छैन। गैरआवासीय नेपालीलाई सेयरमा लगानी गर्ने बाटो अझै खुलेको छैन।
धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसनको निश्चित दर हटाएर माथिल्लो सीमा तोकेर तल्लो सीमा खुला राख्नुपर्छ। माथिल्लो सीमामात्रै तोकेमा ब्रोकरहरुले प्रतिस्पर्धात्मक ढंगले काम गर्न सक्छन्। यसअघि बोर्डले घटाएको ब्रोकर कमिसन तत्काल घटाएर कार्यान्वयनमा ल्याउनुपर्छ। त्यस्तै नेप्सेले मोबाइल एपहरु बनाएर टिएमएसलाई अझै सहज बनाउनुपर्छ। नेप्से ३०, एमएमइ प्लेटफर्म क्रियाशील गराउनुपर्छ।
लगानीकर्ता छोटेलला रौनियार सरकारमा आएका नयाँ मन्त्री माथि लगानीकर्ताले आशा गरेको बताउँछन्। ‘हालै बाहिरिएका मन्त्रीले पुँजी बजारका लागि खासै काम नगरेकाले लगानीकर्ताले विश्वास गरेनन्, नयाँ अर्थमन्त्रीमाथि लगानीकर्ताले आशा गरेका कारण बजार सकरात्मक दिशातर्फ अगाडि बढेको छ,’ रौनियार भन्छन्, ‘त्यसैले लगानीकर्ताको आत्मबल बढाउने के के काम गर्नुपर्छ, त्यसमा सरकार सकारात्मक हुनुपर्छ।’
मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासो बेलैमा सम्बोधन हुनुपर्छ।
मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासो बेलैमा सम्बोधन हुनुपर्छ। टाठाबाठा लगानीकर्ताहरु यसैलाई विषय बनाएर बजारमा खेल्ने गरेको पाइन्छ। बैंक तथा वित्तीय संस्था डुब्ने हल्ला र ऋण तिर्नुपर्दैन भन्दै उच्छृंखल गतिविधि गर्ने समूह खुलेआम हिँडिरहेको स्थितिको अन्त्य हुनुपर्छ। बैंकरहरु पक्राउका विषयमा उठेका समस्याहरुको समाधानमा चनाखो बन्नुपर्छ।
बैंक तथा वित्तीय संस्थाको बढ्दो निस्क्रिय कर्जा र निस्क्रिय सम्पत्ति व्यवस्थापनमा सरकार र राष्ट्र बैंक मिलेर उपयुक्त विकल्पमा काम गर्नुपर्ने आवश्यकता छ। धितोको रुपमा प्रयोग भएको घरजग्गा बैंक तथा वित्तीय संस्थालाई सकार्न र बिक्री गर्न पर्दै गएको अप्ठ्यारो फुकाउनुपर्ने आवश्यकता छ। पुँजीकोष दबाबले ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका बैंकलाई सहजीकरणको आवश्यकता छ। सरकार र नियामक निकायहरुले बेलैमा मिलेर काम गरेमा सेयर बजारले नयाँ आशा सिर्जना गर्दछ।
नेपाल धितोपत्र दलाल व्यवसायी संघका पूर्वअध्यक्ष भरत रानाभाट सूचक तल्लो बिन्दुमा रहेका बेला ब्याजदर घटिरहेको, राजनीतिक परिवर्तन भएको र नीतिगत सुधारका पर्याप्त ठाउँ रहेकाले समग्रमा बजारका लागि सहज वातावरण रहेको बताउँछन्। ‘राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदै आए पनि अझै सुधारका थुप्रै ठाउँ छन्,’ रानाभाट भन्छन्, ‘लगानीकर्ताले सम्बन्धित निकायबाट तत्कालै सुधारका कामहरु होस् भन्ने चाहेका छन्।’