काठमाडौं। नुराकुमारी कुँवरलाई बिहान सबेरैदेखि मध्यरातसम्म भ्याई–नभ्याई हुन्छ। कलंकीस्थित निर्जरा ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टरमा विवाहको साइत र चाडवाडमा त खुट्टा राख्ने ठाउँ नै हुँदैन। काम सघाउन उनले २५ जना त कर्मचारी नै राखेकी छन्। पार्लरका सामग्री, उपकरण र डेकोरेसनका लागि मात्रै करिब ५ करोड खर्चिएकी छन्। उनको पार्लर काठमाडौंमा मात्र होइन, धादिङको खानीखोलामा पनि छ।
नुराको पार्लरमा मेकअप, केयर कट, मेनिक्योर, पेडिक्योर, हेयरकट, स्किन केयर, नेलआर्टलगायत सबै प्रकारका सौन्दर्य प्रसाधनका काम हुन्छन्। उनको सलुनमा पार्लर ट्रनिङ लिन आउनेको पनि उस्तै भीड लाग्ने गरेको छ। उनको काममा श्रीमान् राजन र छोरी निर्जराले पनि सक्दो साथ दिँदै आएका छन्। अहिले उनको प्रगति हेर्दा जति लोभलाग्दो छ, संर्घष पनि उत्तिकै प्रेरणदायी लाग्छ।
सिमराको मध्यम वर्गीय परिवारमा जन्मिएकी नुराले ११ कक्षामा पढ्दै गर्दा १६ वर्षकै उमेरमा राजनसँग प्रेमविवाह गरिन्। धादिङको खानीखोला घर भएका राजनसँग विवाह गरेर सिमराबाट उनी पराई घर आइन्। उनको पढाइ रोकियो। त्यसको एक वर्षमै छोरी जन्माइन्। सानै उमेरमा विवाह गरेकी उनलाई पढाइ छुट्नुको पछुतो छँदै थियो। त्यसपछि पढाइलाई निरन्तरता दिने सोच बनाइन्।
‘खानीखोलाको पनि ग्रामीण क्षत्रमा घर भएकाले त्यहाँ पढ्न सम्भव थिएन। श्रीमानले माइतै बसेर पढ्ने सुझाव दिएपछि दुई२ महिने छोरी बोकेर सिमरा गएँ,’ उनले भनिन्।
उनले माइतीघर सिमरा पढ्दै पार्लर सिक्न थालिन्। अलिअलि हात बसेपछि घरमै मान्छेहरु विभिन्न काम गराउन आउन थाले। प्लस टु सकेपछि पार्लर सचालन गर्ने उद्देश्य बोकेर खानीखोला फर्किइन्। ‘मेरी दिदी डाक्टर हुनुहुन्छ। भाइले एमबीए गरेको छ। मैले सानैमा परिवारको इच्छा विपरीत विवाह गरेका कारण पनि आफैं केही गर्नु थियो। त्यसकारण व्यावसायिक बाटो रोजेकी हुँ,’ उनले भनिन्।
२०६६ मा उनले खानीखोलामा करिव ५० हजार जोहो गरेर पार्लर खोलिन्। सुरुमा ग्राहकलाई पार्लरसम्म ल्याउन मुस्किल पथ्र्यो। तर, विस्तारै पार्लर आउने ग्राहक बाक्लिँदै गए पनि व्यापार खासै हुन्थेन। ‘सुरु–सुरुमा त एक जना थ्रेडिङ गर्न आए भने ५÷६ जना हेर्न मात्रै आउँथे। एउटा थ्रेडिङ गरेको १५ रुपैयाँ आउँथ्यो,’ उनले भनिन्।
खानीखोलामा घाटाको व्यवसाय गर्न पनि उनलाई त्यति सहज थिएन। बिहानै उठेर घरको काम सकेर छोरीलाई स्कुल पुर्याएपछि बल्ल पार्लर जान्थिन्। राती अबेर घर फर्किन्थिन्। अबेर राती घर फर्किंदा एकान्त बाटोमा केटाहरुले जिस्काउने, तर्साउने गरे पनि आफ्नो कामलाई ब्रेकबिनै दौडाएको विगत उनले सुनाइन्।
सुरु गरेको एक वर्षमा त्यहीबाट कमाएर आफ्नो पार्लर ठूलो सटरमा सारिन्। ‘एक वर्षभित्र मेरो पार्लर राम्रै चल्यो। त्यसपछि चाहिने सबै सामान राखेर करिब अढाई लाख खर्चिए पार्लरलाई बढाएँ। त्यतिबेलादेखि नै मैले ट्रेनिङ दिन सुरु गरेकी हुँ,’ उनले भनिन्।
सशस्त्र प्रहरी जागिरे उनका श्रीमान् काठमाडौंबाट घर फर्किंदा पार्लरमा चाहिने क्रिमदेखि चुरासम्मका सामान बोकेरै पुर्याइदिन्थे। उनी पार्लरमै व्यस्त हुन्थिन्, व्यवसाय जो चम्काउनु थियो।
त्यतिबेला नुराले एक जनालाई पार्लरको काम सिकाएर जागिरमा पनि राखिसकेकी थिइन्। काम राम्रै चल्दै थियो। तर, उनलाई वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठसँग स्पेसल कोर्ष लिन मन थियो। कर्मचारी राखेपछि उनलाई ट्रेनिङ लिन समय मिल्यो। त्यसपछि कमलासँग स्पेसल कोर्ष खानीखोलाबाटै काठमाडौं आउजाउ गर्न थालिन्।
अहिले पनि उनको सलोनमा राती २ बजेसम्म पनि काम हुन्छ। ढिलो हुँदा ग्राहकलाई निःशुल्क बस्ने व्यवस्था सलोनमा गरिएको छ। विदेशमा भएकाहरुलाई पनि उनले अनलाइन सेवामार्फत आफ्नो सीप पस्किइरहेकी छन्। नेपाल आउन नपाउनेले आफ्नो छालाको फोटो पठाउँछन् र नुराले त्यसको समस्या पत्ता लगाएर त्यहीअनुसारका क्रिम विदेश पठाउँछिन्।
‘उहाँसँग ट्रेनिङ लिएको शुल्क ६० हजार थियो। मैले सहकारीमा जम्मा गरेको पैसा झिकेर बुझाएँ। बिहान काठमाडौं आएर ट्रेनिङ लिएर बेलुका घर फर्किन्थें,’नुराले भनिन्। ३ महिना सिकेपछि उनमा झनै आत्मविश्वास बढ्यो। उनको सिकाइ काममा पनि झल्किन थाल्यो।
नुराको पार्लरमा ग्राहक बढ्दै गए। ग्राहक बढेसँगै स्टाफ पनि बढाउँदै लगिन्। काममा जतिसुकै व्यस्त भए पनि उनले विभिन्न ट्रेनिङरु लिन छाडिनन्। उनले हबिब जावेद र नील डेभिडसँग हेयर कटिङ पनि सिकिन्। ट्रेनिङकै लागि उनी दिल्ली, मुम्बई र थाइल्यान्डसम्म पुगिन्।
‘भारतमा ब्राजिलियन, रसियन कोर्ष आउँछन्। त्यसैले आफूलाई दक्ष बनाउन म सकेसम्म धेरै कोर्ष लिन्थें। अहिले पनि वार्षिक दुई–तीनपल्ट विभिन्न कोर्ष लिन्छु,’ उनले भनिन्। नुरा मेकअप मात्र नभई छालासम्बन्धी सबै काममा पोख्त छन्। छालाको समस्या हेरेर दिएको क्रिमले सकारात्मक प्रभाव पारेपछि उनको पार्लरमा एकपल्ट आएका ग्राहक दोहोर्याएर आउन थाले।
छालाको कामको भिडियो फेसबुक र टिकटकमा राखेपछि उनको पार्लर देश–विदेशमा चर्चित बन्यो। उनको खानीखोलाको पार्लरमा ट्रिटमेन्ट गराउन काठमाडौंबाट ग्राहक जान थाले। नुराको काम देखेर विदेशबाट नेपाल आउनेहरुले पनि उतैबाट ‘समय’ बुक गर्थे।
‘अहिले पनि हाम्रो पार्लरमा ट्रेनिङ लिन आउनेहरु विदेश बसेर बिदामा नेपाल फर्किका धेरै हुनुहुन्छ। यहाँबाट नर्सिङ पढेर विदेश गएकाहरु प्नि नेपाल फर्किआउँदा मसँग पार्लर सिक्न आउनुहुन्छ,’ उनले भनिन्।
खानीखोलामा रमाइरहेकी उनलाई काठमाडौंमा पार्लर खोल्न ग्राहकले ग्राहकले नै झक्झकाइरहन्थे। तर, उनलाई काठमाडौं आउन फिटिक्कै मन थिएन। कतिपय छालाका डाक्टरले साझेदारीमा काम गर्ने प्रस्ताव राखे पनि त्यसलाई अस्वीकारेको नुरा सुनाउँछिन्।
धेरैले जोडबल गरेपछि उनलाई काठमाडौंमा पनि पार्लर खोल्ने कि भन्ने सोच आयो। यसमा श्रीमा्नले पनि सहमति जनाए। एकपटक काठमाडौं घुम्न आउँदा कलंकीमा राम्रो ठाउँ देखिन्।
तर, भाडा सुन्दा अत्यास लाग्ने।
‘हामी खानीखोलामा बढीमा ३० हजार भाडा तिरेकालाई १ लाख ५१ हजार सुन्दा नतर्सिने कुरै भएन। तर, आँटौं न त भनेर सुरु गर्यौं,’ उनले भनिन्, ‘फेरि काठमाडौंमा टायल पनि नहाली खाली कोठा मात्र दिँदा रहेछन। त्यसकारण खर्च पनि सोचेभन्दा धेरै भयो।’
खर्च धेरै भए पनि काठमाडौंमा खोलेको पार्लरले सुरु दिनबाटै आम्दानी दिन थालेको र धेरै चल्न थालेको उनले विगत स्मरण गरिन्।
‘११/१२ जना मात्र स्टाफ राख्न खानीखोलाका ९ जनालाई काठमाडौंको शाखामा ल्याएकी थिएँ। ३ जना यही खोजेकी थिएँ। तर, त्यतिले पुगेन। काठमाडौंको पार्लरमा झनै सास फेर्ने फुर्सद भएन। २०÷२५ जना चाहिने भयो। दसैंमा घरका आफन्तलाई पनि बोलाएर सक्ने काम सहयोग गर्न लगायौं,’ उनले भनिन्।
अहिले पनि उनको सलोनमा राती २ बजेसम्म पनि काम हुन्छ। ढिलो हुँदा ग्राहकलाई निःशुल्क बस्ने व्यवस्था सलोनमा गरिएको छ। विदेशमा भएकाहरुलाई पनि उनले अनलाइन सेवामार्फत आफ्नो सीप पस्किइरहेकी छन्। नेपाल आउन नपाउनेले आफ्नो छालाको फोटो पठाउँछन् र नुराले त्यसको समस्या पत्ता लगाएर त्यहीअनुसारका क्रिम विदेश पठाउँछिन्।
व्यवसाय राम्रो चले पनि उनले सिकाइ कहिल्यै पनि छाडिनन्, जुन अहिले पनि निरन्तर छ। ‘म जति कमाउँछु, त्यति ट्रेनिङ लिनमै खर्चिन्छु। छोरीलाई पनि यो क्षेत्रमा रुचि छ। उनले काम पनि धेरै सिकेसकेकी छन्। केही महिनापछि छोरीलाई लिएर ट्रेनिङकै लागि रसिया जाँदै छु,’ उनले भनिन्।
नुरालाई थप नयाँ आउटलेट खोल्न खासै मन छैन बरु आफू जानेको कुरा अरुलाई सिकाउन चाहन्छिन्। ‘मैले धेरै ठाउँ गएर, लाखौं पैसा खर्चिएर पार्लरसम्बन्धी विषय सिकें र अझै सिक्दै छु। एउटा एकेडेमी सञ्चालन गरेर धेरैभन्दा धेरैलाई सहुलियत शुल्कमा ट्रेनिङ दिने योजना छ,’ उनले भनिन्। कुनै काम दत्तचित्त भएर गरिए मात्रै सफल भइने उनको अनुभव छ।
‘मेरो काम देखेर देश–विदेशबाट मान्छे आउँछन्। कतिपय डाक्टरसमेत छालाको उपचार गराउन आउँछन्। यो सबै अनुभवकै कारणले हो। पार्लर व्यवसायलाई चम्काउँछु भनेर दत्तचित्तसहित लागेकै कारण यहाँसम्म आइपुगेकी हुँ,’ उनले भनिन्।