काठमाडौं। तेम्बा छिरिङ शेर्पा। १४ वर्षकै उमेरमा सगरमाथा हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने पहिलो व्यक्ति हुन्। सन् २००० मा बुबाको सहारामा १४ वर्षकै उमेरमा हिमाल आरोहण गरेर ’गिनिज बुक वल्र्ड रेकर्ड’ राख्न सफल उनी अहिले ३८ वर्षका भए।
कलिलै उमेरमा विश्व रेकर्ड राखेका शेर्पाको त्यसपछिका जीवनमा धेरै उतारचढाव आइरहे। सिद्धार्थ वनस्थलीमा अध्ययन गरेका शेर्पाले उच्च शिक्षा भने चीनबाट लिएका हुन्।
हिमाल आरोहण गरेरै गिनिज बुकमा नाम लेखाउन सफल भए पनि उनले हिमाल आरोहणलाई निरन्तरता दिन सकेनन्। बाल्यकालमै सगरमाथा आरोहण गरेर विश्वको ध्यान खिचेका शेर्पाको हातको औंला त्यही बेला हिउँले खाइदिएको थियो। यद्यपि, उनलाई हिमाल चढ्न असहज थिएन।
दोलखाको गौरीशंकरमा जन्मिएका आरोही शेर्पा प्राय काठमाडौंमै हुन्छन्। बेला–बेलामा जन्मगाउँ गइरहने शेर्पा आफ्नो टिम लिएर त्यहाँका विभिन्न गन्तव्यमा समेत पुगिरहेका हुन्छन्।
शेर्पाले हिमाल आरोहणको काम चटक्कै छाडेका भने छैन। उनले आफ्नै टे«किङ कम्पनी शेर्पा खांग्री आउटडोर सञ्चालन गरिरहेका छन्। स–साना हिमाल आरोहण पनि त्यो कम्पनीमार्फत गराउँदै आएका छन्। खासगरी उनले छोटो दूरीका ट्रेकिङ ट्रिप आयोजना गर्दै आएका छन्।
तीव्र प्रतिस्पर्धा भएकोले त्यही कम्पनीले मात्र जीविकोपार्जन गर्न नसकिने सोचका साथ कोभिडअघि पनि बेड एन्ड ब्रेकफास्टसहितको होम स्टे स्टाइलको काम गरिरहेका थिए, नक्सालमा। पानीपोखरीमा अफिसका लागि घर भाडामा लिएका थिए। विदेशी एवं स्वदेशी ग्राहकलाई होटलमा बस्नुभन्दा आफ्नै रुममा राख्ने गरेका थिए।
त्यही बेला उनलाई केही साथीले एयर एन्ड बी डटकम गर्न सुझाए। त्यो भनेको अनलाइन प्ल्याटफर्म रहेछ। त्यहाँ रजिस्ट्रर गरेपछि केही ग्राहक आए। त्यहाँ बेड र ब्रेकफास्टको व्यवस्था गरे।
हिमाल आरोहण गरेरै गिनिज बुकमा नाम लेखाउन सफल भए पनि उनले हिमाल आरोहणलाई निरन्तरता दिन सकेनन्। बाल्यकालमै सगरमाथा आरोहण गरेर विश्वको ध्यान खिचेका शेर्पाको हातको औंला त्यही बेला हिउँले खाइदिएको थियो।
त्यसपछि उनले बालुवाटारमा अर्को घर लिएर त्यही खाले व्यवसाय सुरु गरे। कफीसपसमेत सञ्चालनमा ल्याए। त्यो बेला उनका ग्राहक बढीजसो चिनियाँ नै थिए। उनले चीनमा पढेको भएकाले पनि त्यही ग्रुप उतैको थियो। कोभिड सुरु भएपछि उनको व्यवसाय पूर्ण रुपमा बन्द भयो।
अनि खुल्यो तेम्बा हाउस एन्ड अल्पाइन प्रेज
अवसर खोजीमा निरन्तर लागिरहँदा उनले अहिले बूढानीलकण्ठमा तेम्बा हाउस एन्ड अल्पाइन प्रेज नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन्। यसलाई उनी रिसोर्टभन्दा पनि आउटडोर किसिमको रेस्टुरेन्ट भन्न रुचाउँछन्। हरियाली वातावरणको बीचमा रेस्टुरेन्ट, स्वीमिङ पुल र अर्गानिक फार्मसमेत सञ्चालनमा छ। त्यही रहेको एउटा घरमा आवासको समेत सुविधा दिइएको छ।
सहरको कोलाहलबाट केही टाढा गएर समय बिताउन चाहनेलाई लक्षित गरेर सञ्चालनमा ल्याएको तेम्बा हाउस एन्ड अल्पाइन प्रेज करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको छ।
ठूलाठूला रुख र बाँसघारीभित्रको खुल्ला ठाउँमा बसेर खाना र खाजाको मज्जा लिन चाहनेका लागि उत्तम गन्तव्य बनेको छ, तेम्बा हाउस। त्यही बास बस्न चाहनेका लागि चिटिक्क परेका ८ कोठाको समेत व्यवस्था छ। अहिले ब्रेड एन्ड ब्रेकफास्टका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ निर्धारण गरेका छन्। त्यसबाहेक रेस्टुरेन्ट मेन्यु पनि मध्यम खाले रहेको छ।
उनको रेस्टुँरा आउने प्रायः स्वदेशी र विदेशीहरु नै हुन्छन्। लामो समय कोठा लिएर बस्ने विदेशीहरु पनि धेरै आउँछन्। अझ त्यस क्षेत्रमा ध्यान गर्न आउनेहरु धेरै समय त्यहीं बस्छन्। शान्त वातावरणमा चराचुरुंगीको चिरबिरसँगै बहने शीतल हावाले थकाइ र चिन्ता छिनभरमै मेटाइदिन्छ।
बूढानीलकण्ठ मन्दिरबाट केही मिटर माथि सञ्चालनमा रहेको तेम्बा हाउसलाई आउटडोर स्टाइलमा सजाइएको छ। कफी स्टेसन, रेस्टुरेन्टसमेत खुला स्थानमा राखिएको छ। रिसोर्टमा छिर्नेबित्तिकै त्यहाँको भाइव नै अर्कै आउँछ। बस्न सेटअप भिन्न बनाइएको छ। यस्तै, टेन्ट हाउसको पनि व्यवस्था छ। बार्बिक्युव गर्नेका लागि प्रशस्त ठाउँ छ।
विदेश बसाइँको अवसर खोजेनन्
तेम्बाले चाहेको भए युरोप, अमेरिकालगायत जुनसुकै मुलुकमा स्थायी बसोबास गर्न पाउँथे। हुन त, उनलाई बसाइँको अवसर पनि नमिलेको हैन। तर, उनले नेपालजस्तो वातावरण कहीँ पाउन सकेनन्। कोभिड समय अमेरिका गएर २।३ महिना बसे पनि नेपालको जस्तो प्रकृति त्यहाँ पाउन नसकेपछि फर्किएको उनी बताउँछन्।
भूकम्पमा टिमका केही व्यक्तिको ज्यान गएपछि अलिअलि कमाएको पैसा त्यसैमा खर्च भएको उनले सुनाए। ‘भूकम्पपछि फेरि सुरु भएको बिजनेस कोभिडले डाँवाडोल बनायो। त्यसपछि नेपालमा केही गरे पनि नहुने भयो। अब विदेशमै बस्छु भनेर उता लागें,’ तेम्बाले भने, ‘विदेश बसाइँ राम्रो नलागेपछि फर्किएँ।’
उनले नेपाल फर्किएर आफ्नै कामलाई अगाडि बढाए। अमेरिकामा पैसा कमाए पनि यहाँको जस्तो जीवन बिताउने शैली, मानसम्मान नपाइने उनको अनुभव छ। अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा बसाइँका लागि आवेदन दिए उनले सहजै अनुमति पाउँछन्। तर, उनले विदेश बस्न चाहेनन्।
हिमाल चढ्ने रहर जीवितै
हिमाल चढ्ने रहर जीवितै रहे पनि ०७२ को भूकम्प गएपछि ज्यान जोगाउन आफ्नै अफिसबाट हाम फाल्दा एउटा खुट्टा भाँचिएको थियो, उनको। हड्डी फुटेको कारण अहिलेसम्म राम्रोसँग निको नहुँदा लामो समय हिँड्न सक्दैनन्। उनले खुट्टाको उपचारका लागि अमेरिकामा अप्रेसन गरे पनि निको हुन सकेन।
साथीहरुको सहयोगमा अप्रेसन गरे पनि दुखाइ नघटेपछि ठूला हिमाल चढ्ने चाहना सपनामै सीमित भएको छ। यद्यपि, वर्षको एक–दुईटा साना हिमाल भने चढिरहेको उनी बताउँछन्।