काठमाडौं। सामान्यत: जसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्छ, ती मन्त्री विवादमा फसेकै हुन्छन्। अपवादले केही पर्यटन मन्त्री विवादमा नपरे पनि अधिकाशं मन्त्रीले विवादको पगरी गुथेकै हुन्छन्। खासगरी नेपाल एयरलाइन्स, पशुपति क्षेत्र विकास कोष, लुम्बीनि विकास कोष र नेपाल पर्यटन बोर्डमा हुने नियुक्ति र खरीद पक्रियामा मन्त्रीहरु बढी विवादमा तानिने गरेका हुन्।
निवर्तमान पर्यटन मन्त्री सुदन किराँती लुम्बिनी विकास कोषको उपाध्यक्ष लक्र्यान लामा नियुक्ति ,जग्गा भाडामा दिनेदेखि निगमको जहाज मर्मत सम्भारमा देखाएको उदासिनतामा विवादमा परिरहे। योसँगै उनलाई स्टण्डबाजी गर्ने मन्त्रीको उपमा समेत दिइयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको शौचालय अनुगमणदेखि मन्त्रालयमा भुई पुछेको भिडियो सार्वजनिक गरेर चर्चामा आउन खोजेका उनी विवादमा पर्दै मन्त्रालयबाट बिदा भए।
अब किराँतीको ठाउँमा माओवादी केन्द्रबाटै हितबहादुर तामाङलाई पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ। २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा युवा तथा खेलकुद मन्त्री बनेका तामाङ दोस्रो पटक मन्त्रीको रूपमा सिंहदरबार इन्ट्रि गरेका हुन्। खेलकुद मन्त्रालयमा हुँदा विवादमा नपरेका मन्त्री तामाङलाई पर्यटनमा रहँदा पहिलाकै छविलाई निरन्तरता दिनुपर्ने बाध्यता छ। नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित तामाङ प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वास पात्रमध्येका एक हुन्।
हक्कि स्वभाव भएका मन्त्री तामाङलाई आर्थिक संकटमा परेको निगमलाई उतार्नेदेखि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्नेसम्मको जिम्मेवारी काँधमा परेको छ। यस्तै लामो समयदेखि विवादित बन्दै गएको नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा विवादरहित ढंगबाट नियुक्त गरी निजी क्षेत्रको मनोबल उकास्नुपर्ने जिम्मेवारी समेत छ।
पछिल्लो समय पर्यटनसँग सम्बन्धित संघसस्था र पर्यटन व्यवसायीहरु पर्यटन बोर्डको औचित्य माथि नै प्रश्न उठाइरहेका छन्। त्यस्तै पर्यटन दशक घोषणा भएको २ वर्ष वितिसक्दा समेत कुनै प्रक्रिया अगाडी नबढिरहेको बेला उनले यसलाई समेत अगाडि बढाउनुपर्ने छ। पर्यटन ऐन संशोधनको अन्तिम चरणमा रहेको छ।
नेवानिलाई लगाउलान् पार?
चार वटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको नेवानि अहिले १ खर्ब ३५ अर्ब रुपैयाँ सहुलियत कर्जा लिने दौडमा लागेको छ। उसले ग्लोबल टेण्डर समेत आब्हान गरिसकेको छ। निगमले दुई थान ‘न्यारोबडी’ र दुई थान ‘वाइडबडी‘ जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको बताएको छ।
अहिले भएको ऋणको ब्याज १० देखि १२ प्रतिशतसम्म रहेकोले १ देखि ३ प्रतिशतसम्मको ऋणको खोजीमा नेवानि लागेको छ। यो ऋण लिन पाएमा हाल भएको ऋण तिरेर नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ। यसका लागि सरकार जमानीमा बस्नुपर्ने छ। ऋण लिनका लागि नेवानि मात्र नभई प्रधानमन्त्रीसमेत अग्रसर हुनुपर्ने स्थितिमा पर्यटन मन्त्री तामाङले कन्भीन्स गराउन सक्लान् वा नसक्लान् भन्ने प्रश्न उब्जिन थालेको छ।
हुन त निर्वतमान पर्यटन मन्त्री किराँतीले निगम सुधारका लागि विभिन्न समिति गठन गरी सुझावसमेत लिइसका छन्। पूर्वगर्भनर डा. दिपेन्द्र बहादुर क्षेत्रीले दिएको सुझावमा सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिद गर्न भनिएको छ। यसअघि पनि धेरै पर्यटन मन्त्रीहरुले निगम सुधारसहित पर्यटन क्षेत्रकै सुधारका लागि समितिहरु गठन गरेर सुझाव लिइसकेका छन्। तर, हालसम्म ती सुझावलाई कार्यान्वयनका लागि कुनै पहल गरिएको छैन।
कर्मचारी नियुक्ति मै विवादमा तानिन्छन् मन्त्री
खरिद प्रक्रियामा मात्र हैन कर्मचारी नियुक्तिमा पनि मन्त्रीहरु विवादमा पर्ने गरेका छन्। पूर्वमन्त्री प्रेम आले नेवानिको कार्यकारी अध्यक्ष युवराज अधिकारीको नियुक्तिको विषयमा विवादमा तानिए। नियुक्तिकै बेला प्रश्न उठे पनि मन्त्री आलेले ६ महिनापछि बर्खास्त गरे। तर, मन्त्री आलेको निर्णयपछि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर अध्यक्ष अधिकारी काममा फर्किए। त्यति मात्र हैन पर्यटन बोर्डका निर्वतमान प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई बर्खास्तीको बेला समेत मन्त्री आले विवादमा तानिए। रेग्मीले पनि अदालतबाट अन्तरिम आदेश लिएर काममा फर्किएर आफ्नो कार्यकाल पूरा गरे।
विवादित पर्यटन मन्त्रीहरु
पछिल्लो समय नियुक्त भएका अधिकाशं पर्यटन मन्त्री विवादमा तानिएका छन्। स्वर्गीय रविन्द्र अधिकारी वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा तानिएका थिए। त्यसपछि नियुक्त भएका मन्त्रीहरुमा योगेश भट्टराई नेवानिलाई निजीकरण गराउने प्रक्रिया अगाडी बढाएको विषयमा विवादमा तानिए। यस्तै छोटो समयका लागि मन्त्री बनेका भानुभक्त ढकाल पर्यटन बोर्डको निर्वतमान उपाध्यक्ष चन्द्र रिजाललाई पर्यटन बोर्डको उपाध्यक्ष नियुक्तिमा विवादमा तानिए। योसँगै प्रेम आले र सुदन किराँती चरम विवादमा परेका थिए।