काठमाडौं। ग्लोबल आइएमई बैंकका वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी थप ४१ शाखा कार्यालयले एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्।
बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेका कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवती सहभागी थिए।
विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार बढीलाई बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनलगायत विषयमा जानकारी गराइएको बैंकले जनाएको छ।
बैंकले कोसी प्रदेशको झापा दमक नगरपालिका र मोरङको विराटनगर महानगरमा आयोजना गरेका कार्यक्रममा २५० भन्दा बढी सहभागिता थियो। यस्तै, मधेस प्रदेशअन्तर्गत सर्लाही को मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० बढीको सहभागिता थियो।
बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगर, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौंको काठमाडौं महानगर, बूढानीलकण्ठ नगरपालिका, धादिङको गल्छी गाउँपालिका, रसुवाको कालिका गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा १ हजार २ सय बढीको सहभागिता रहेको बैंकले बताएको छ।
गण्डकी प्रदेशअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका, नवलपरासीको गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाउँपालिका, लमजुङको बेंसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँको भानु नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा ९ सय बढी स्थानीय सहभागी भएको बैंकले जनाएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको महाराजगञ्ज नगरपालिका, वाणगंगा नगरपालिका, दाङको दंगीशरण, राप्ती गाउँपालिका, गुल्मीको मालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासीको रामग्राम नगरपालिका, पाल्पाको पूर्वखोला गाउँपालिका, रोल्पाको रोल्पा नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा हजार पाँच सय बढी सहभागी थिए।
बैंकका अनुसार सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीको डिलासैनी गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता थियो।
बैंकले ७६ शाखाबाट ९ हजार बढी लक्षित वर्गलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी दिइएको बताएको छ। यस आर्थिक वर्षमा बैंकले ३५० बढी शाखामार्फत लक्षित वर्गको सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।
हाल बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।