काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन्।
बिहीबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने सुझाव दिए।
‘सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन’, उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ।’
उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गरिदिन पनि मन्त्री पुनसमक्ष आग्रह गरे। ढकालले अर्थमन्त्रीलाई कोभिड समय लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले त्यसमा विश्वास गर्नुपर्ने बताए।
अध्यक्ष ढकालले मन्त्री पुनलाई निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने माग गरे। ‘निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो’, अध्यक्ष ढकालले भने, ‘सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनुहुन्न र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ।’ राजस्व कम उठिरहेको समय धरपकड गरी राजस्व उठाउने गरिएकोबारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई अवगत गराए।
चार वर्षअगाडि राजस्वले टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए। निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए। अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने ढकालको भनाइ थियो।
‘सरकारले खर्च नगरी विश्वास बढने यस्ता विषयमा कन्जुस्याइँ गर्नुहुँदैन’, उनले भने, ‘यी साना विषयजस्ता देखिए पनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउँछ।’
अध्यक्ष ढकालले जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहेको विषय पनि अर्थमन्त्रीलाई अवगत गराए। अध्यक्ष ढकालले बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिए अर्थतन्त्रमा थप जटिलता बढनेतर्पm सजग गराउँदै यसको संवेदनशीलता बुभ्mन उनले मन्त्री पुनसँग आग्रह गरे। ‘बैंक वित्तिय संस्थाको ऋण तिर्नु नपर्ने भनी गलत प्रचार–प्रसार भइरहेको छ’, अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ।’
भेटमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको महासंघले बताएको छ। मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने स्पष्ट पारे। निजी क्षेत्रमाथि धरपकड भइरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ छ।
गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो। राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिइने प्रतिबद्धता जनाए।