काठमाडौं।नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।
अर्थमन्त्रीमा नियुक्त भएको बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिन बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइसाथ नियन्त्रण गर्ने बताएका हुन्।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नतिर्न भडकाउँदै हिँड्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्ने र तिर्नुहुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नुहुन्न।’
निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनले गरे। मुलुकमा लगानी वातावरण र लगानी सुरक्षा ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ।
‘सरकारले लगानी वातावरण बनाउँछ। सुरक्षा प्रत्याभूति दिलाउँछ’, पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरण अन्त्य गर्छौं।’
सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए।
मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न र अनावश्यक दुःख नदिन नियामक निकायलाई निर्देशन दिए। उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने स्पष्ट पारे।
अर्थमन्त्री पुनलाई नेपाल बैंकर्स संघ ध्यक्ष सुनील केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर कार्यकाल सफलताको शुभकामनासहित बधाइ दिएको छ।
भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग संघले आग्रह गरेको छ।