काठमाडौं। आराध्यदेव पशुपतिनाथ मन्दिरमा शिवरात्रिको विशेष पूजा गर्ने दर्शनार्थीले ३० हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले विशेष पूजाका दुईथरी शुल्क तोकेको हो।
कोषका सदस्य सचिव राजुकुमार खत्रीका अनुसार अधिकतम ३० हजार २ सय र न्यूनतम १५ हजार १ सय रुपैयाँ तोकिएको छ।
‘हामीले विशेष पूजा गर्नेका लागि यो व्यवस्था गरेका हौं। विशेष पूजाका लागि टिकट काटेपछि पूजा गर्ने व्यक्ति उपस्थित भए मात्र पुग्छ। अरु व्यवस्था कोषले नै गर्छ,’ उनले भने।
विशेष पूजाका लागि बिहीबार मध्यान्हसम्म २ सय बढी दर्शनार्थीले टिकट काटिसकेको खत्रीले जानकारी दिए। पशुपति क्षेत्रमा विशेष पूजा विभिन्न ठूला चाडपर्वबाहेक सामान्य समय पनि हुने गरेको छ। त्यसका लागि शुल्कसमेत तोकिने गरेको छ। कोषले दर्शनार्थीलाई सहज बनाउन ई–टिकेटिङको समेत व्यवस्था गरेको छ।
महाशिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको खत्रीले बताए। कोषका अनुसार शिवरात्रिका दिन देशभर र भारतबाट गरी करिब १७ लाखले दर्शन गर्ने एवं करिब २ हजार ८ सय साधु, सन्त तथा नागा बाबा उपस्थिति रहने अनुमान छ।
शिवरात्रिकै लागि पाशुपत क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माण गरिएको छ। यस दिनलाई विशेष बनाउन १४ फिटको बाटेको धुप र १० फिटको सिन्के धुप बालिने खत्रीले बताए।
यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारलाई सजावट गरिएको छ भने भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँच वटा गेटलाई फूलमालाले सजाइएको छ।
यस वर्ष पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको स्वागत गर्न पिंगलास्थान, गौशाला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगंगा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन्।
कोषका अनुसार अन्य समयमा विशेष पूजा गर्न चाहनेका लागि न्यूनतम १ हजार १ सयदेखि अधिकतम ५ लाख ५१ हजार रुपैयाँसम्म छ। कोषले विशेष पूजाका लागि २०५४ मा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो।
पशुपतिमा हुने पूजाका प्रकारअनुसार कोषले १ हजार १ सय, २ हजार १ सय, ५ हजार १ सय, ११ हजार, २७ हजार, ५५ हजार, १ लाख ५६ हजार, २ लाख ५१ हजार र ५ लाख ५१ हजार शुल्क तोकेको छ।
त्यस्तै, कोषले सोभन्दा बढीका विशेषपूजा व्यवस्थापन पनि गरेको छ।। त्यसैगरी वासुकीनाथको दुग्धार्पण सेवा २ सय ५५ तथा दैनिक नित्यपूजा ५०५ गरी विशेष पूजा व्यवस्थापन गरेको छ।