काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं संस्करणको चेम्बर एक्स्पो २०२४ सुरु भएको छ।बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पो उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरे।
स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको चेम्बरले बताएको छ।
कार्यक्रममा सामाजिक सुरक्षामन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए। मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
उक्त अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिबीच अर्थतत्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए। उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ। लगानी वातावरण सिर्जना हुन सकेको छैन। एक्स्पोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौं।’
कृषि, हस्तकलालगायत स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन एवं साना व्यवसायीको आर्थिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए।
एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएको छ। घरजग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीसमेत प्रदर्शनीमा राखिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरु भएको हो।
एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० बढी स्टलले सहभागिता जनाएका छन्। आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तानलगायतका व्यापारीले सहभागिता जनाएका छन्।