काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८०/८१को ६ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सरकार आधारभूत आवश्यकता पूरा गर्नमै चुकेको छ। यसको स्वीकारोक्ति प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गरेका छन्। गठबन्धन फेरेर नयाँ सरकार गठन गरेका प्रधानमन्त्री दाहालले चाहेअनुसार काम गर्न नसकेकाले गठबन्धन फेरिएको संसद्मा बताए। उनको स्वीकारोक्ति तथ्यांकले पनि पुष्टि गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आवको साउनदेखि पुससम्मको तथ्यांकले लक्ष्यअनुसार काम नभएको देखाएको छ।
खाद्यान्न अभाव कायमै
बाजुरा, जुम्लालगायत दुर्गम जिल्लामा खाद्यान्न अभाव भएका विवरण आएका छन्। सरकारले साउनदेखि पुससम्म दुर्गम जिल्लाहरूमा लक्ष्यको आधा पनि खाद्यान्न पु¥याउन सकेको छैन। चालु आवमा २० मेट्रिक टन खाद्यान्न दुर्गम जिल्लामा ढुवानी गर्ने सरकारको लक्ष्य छ। तर, ६ महनिामा ७.४ मेट्रिकमात्रै ढुवानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक छ। तथ्यांकले सरकार मुख्य आधाभूत आवश्यकता ‘गास’ आपूर्ति गर्नमै चुकेको देखाउँछ।
मल अभाव कायमै
चालु आर्थिक वर्षमा ५२० मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने सरकारी लक्ष्य छ। समय आधा सकिँदा आपूर्ति आधा पनि नभएको प्रधानमन्त्री कार्यालयकै तथ्यांकले देखाउँछ। ६ महिनामा २२० मेट्रिक टनमात्रै रासायनिक मल आयात गर्न सकेको छ। तराइका जिल्लामा हिउँदे बालीका लागि मल अभाव भएको विवरण छन्।
विद्युत उत्पादन लक्ष्यभन्दा निकै कम
चालु आर्थिक वर्षमा मुलुकमा कुल विद्युत जडित क्षमता ३९०० मेगावाट पुर्याउने सरकारी लक्ष्य छ। तर, ६ महिनामा १७३ मेगावाटमात्रै बढाउन सकिएको छ। प्रधानमन्त्री कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म मुलुकको विद्युत् उत्पादन क्षमता २९४० मेगावाट पुगेको छ। यसअघि गत असारमा नेपालको कुल विद्युत् उत्पादन क्षमता २७६७ मेगावाट रहेको थियो। त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको विद्युत प्रसारण लाइन चालु आवमा ६१८३ किलोमिटर पुर्याउने सरकारी लक्ष्य थियो। ६ महिनामा ३९७ किलोमिटर थप भएको छ। असार मसान्तमा ५४८४ किलोमिटर रहेको उक्त क्षमताको प्रसारण लाइन पुसमा ५८८१ किलोमिटर पुगेको छ।
सुत्केरीको ज्यान जोखिममै
गत आर्थिक वर्ष २०७९/८०मा सरकारले ५५२ जना सुत्केरी महिलाको उद्धार गरेको थियो। चालु आर्थिक वर्षमा उक्त लक्ष्य ७०२ जना रहेको थियो। ६ महिनामा ७८ जन सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ।
पूर्वाधार निर्माण पनि न्यून
चालु आवमा सरकारले लिएको लक्ष्यअनुसार ६ महिनामा पूर्वाधार निर्माणको काम पनि सुस्त देखिन्छ। चालु आवको ६ महिनामा ९३ किलोमिटर दुई लेनको सडक कालोपत्रे गरिएको छ। असारमा १७ हजार ६९२ किलोमिटर रहेको दुई लेन कालोपत्रे सडक पुसमसान्तसम्म १७ हजार ७८५ किलोमिटर पुगेको छ। चालु आर्थिक वर्षमा १८ हजार ४९२ किलोमिटर दुई लेन कालोपत्रे सडक पु¥याउनेृ सरकारी लक्ष्य छ। त्यस्तै ६ महिनामा २४ किलोमिटर ४ लेनको सडक कालोपत्रे गरिएको छ। हाल कालोपत्रे ४ लेनको सडक १६८ किलोमिटर पुगेको छ। चालु आवमा ४ लेनको कालोपत्रे सडक २९४.७ किलोमिटर पुर्याउने सरकारी लक्ष्य छ।
६ महिनामा मुलुकभर ३४ वटा पुल बनेका सरकारी तथ्यांक छ। गत असारमा ३१९१ पुल रहेकोमा सरकारले चालु आवको अन्तिमसम्म ३३४१ पुल बनाउने लक्ष्य राखेको छ। मूलपानी क्रिकेट रंगशाला निर्माणको काम चालु आवमा ४५ प्रतिशत सक्ने सरकारी लक्ष्य छ। तर ६ महिनामा २.८ प्रतिशतमात्रै काम भएर रंगशालाको भौतिक प्रगति ३७.८ प्रतिशत पुगेको छ। गत असारमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत रहेको थियो। चालु आवमा फाष्टट्र्याक निर्माणको काम ३४.७ प्रतिशत पुर्याउन सरकारी लक्ष्य रहेकोमा ६ महिनामा ४.१ प्रतिशत काम भएर सडकको प्रगति २९.६ प्रतिशत पुगेको छ। गत असारमा फास्टट्र्याका प्रगति २५.५ प्रतिशत थियो। त्यस्तै सरकारले चालु आवको अन्तिमसम्म अप्टिकल फाइबर विस्तार गरेर मुलुकभर १४ हजार ७३८ किलोमिटर पु¥याउने लक्ष्य राखेको छ। पुससम्म १ हजार ८०५ किलोमिटर अप्टिकल फाइबर जडान भएर हाल १४ हजार ४३ किलोमिटर पुगेको छ।