काठमाडौं। नयाँ सत्ता समीकरणसँगै आज बसेको संघीय संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्न, फेरिएको राजनीतिलगायत विषयमा कांग्रेसलाई धारे–हात लगाएका छन्।
पुरानो गठबन्धन तोड्नपरेका ६ कारण देखाएर प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोलेपछि प्रतिपक्षी कांग्रेसले त्यसको प्रतिकारस्वरुप प्रचण्डले जनमतको पनि घोर अपमान गरेको आरोप लगाएको हो।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि पहल लिएको पार्टीसँग गठबन्धन भत्काएर प्रधानमन्त्रीले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठराघात गरेको दाबी गरे।
‘मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षा विकास र समृद्धि प्राप्त गर्ने राजनीतिलाई स्थिरता साथ अगाडि बढाउने सहमति नेकपा माओवादी केन्द्र र कांग्रेसबीच भएका थिए। प्रचण्डजीले गठबन्धनको मूल्य–मान्यता भत्काएर र सहमति तोडेर अर्को गठबन्धन बनाउनुभएको हो। कांग्रेसलाई लगाइएका आरोप निराधार हुन्।
प्रधानमन्त्रीले कांग्रेसलाई हिन्दु राष्ट्र कायम गर्न खोजेको, कोसीमा बदमासी गरेकोलगायत ६ बुँदे आरोप लगाएका थिए।
गठबन्धनका नाममा प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको उनले बताए। ‘जनमतको अपमान गर्दै कपोकल्पित कथा बुनेर,सानातिना मुद्दा उठाएर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यसलाई हामीले भन्नैपर्छ, राजनीतिक बेइमानी हो,’ लेखकले भने।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ। आज बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
गठबन्धन फेरिराख्ने र आफू प्रधानमन्त्री पदमा रहिराख्ने कुरा उथलपुथल नभएको पनि लेखकले बताए। प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै आफू नमरुन्जेल राजनीतिक उथलपुथल ल्याइरहने र सत्ताका लागि पहल गरिरहने बताएपछि लेखकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।