काठमाडौं। नेपाल औषधी उत्पादक संघ (एपोन)ले चितवनमा गर्न लागेको ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
‘नेपालमा औषधी उद्योगको विकास तथा दिगोपनको संवाहक’ नारासहित फागुन २५ देखि २७ सम्म चितवन एक्स्पो सेन्टर, भरतपुरमा फर्मा एक्स्पो आयोजना गर्न लागिएको हो।
नेपाली औषधी उद्योगको विकास र प्रवर्द्धन, निर्यातयोग्य नेपालका औषधी उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिबारे जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ।
औषधी उत्पादन प्रक्रिया, गुणस्तरण, स्वदेशमै उत्पादित औषधीको अन्तर्राष्ट्रिय मापदण्डलगायत विषयमा एक्स्पोमा जानकारी गराइने संघले बताएको छ।
कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीका लागि लिएको गलत नीतिका कारण औषधीको कारोबार घट्दै गएको संघले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ नेपालमा नेपाली उद्योगीको झन्डै ३४ अर्ब रुपैयाँको औषधीको कारोबार भएको थियो। तर, आव २०७९/८० मा २९ अर्ब ३६ करोड मात्र कारोबार भएको संघले तथ्यांक सार्वजनिक गरेको छ।
सरकारी तवरबाट खरिद गर्ने औषधी १० स्वदेशी उद्योगको उत्पादन रहेको संघले बताएको छ। एक्स्पोमा १६० स्टल राखिनेछन्। स्टलमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत ९ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ, नेपालमा उत्पादित औषधीका स्टल पनि राखिनेछ।