काठमाडौं। अकस्मात गठबन्धन तोडेर एमालेमा हाम फालेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रतिपक्ष नेपाली कांग्रेसले आरोप लगाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आज बसेको कांग्रेस संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो।
प्रधानमन्त्रीले गठबन्धन तोड्नुपर्नाका कारण भनेर बाहिर हल्ला गरेका विषय अत्यन्त काल्पनिक र भ्रमपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा बेइमानी र विश्वासघात गरेको पत्रकारलाई बताए।
उनले भने, ‘प्रधानमन्त्रीबाट कांग्रेसलाई विश्वासघात भयो। गठबन्धन भत्काउनुभयो। अन्टसन्ट कारण देखाएर प्रचण्डले गठबन्धन भत्काएकाले यसलाई कांग्रेसले राजनीतिक बेइमानीका रूपमा लिएको छ। राजनीतिलाई प्रदूषित पार्ने काम प्रचण्डबाट भएको छ।’ आजको संसदीय दल बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार मात्रै सभापति निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले पनि गठबन्धन भत्काएर प्रधानमन्त्रीले अराजनीतिक संस्कारलाई बढावा दिएको निष्कर्ष निकालेको थियो।
प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनुका साथै कांग्रेस मन्त्रीलाई पदमुक्त गरेका थिए।
त्यसपछि नेकपा एससमेतलाई समेटेर एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित नयाँ गठबन्धन दलबाट बुधबार २० सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।