काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले विदेशमा कम्पनीकै सीम प्रयोगकर्ता लक्षित डेटा रोमिङ सेवाको महसुलमा कटौती गरेको छ।
विदेशमा टेलिकमका सीम प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्दै आएकाले सम्बन्धित मुलुकका रोमिङ पार्टनरसँग सम्झौता गरेर महसुल दरमा कटौती गरिएको कम्पनीले जनाएको छ।
महसुल दर कटौतीपछि टेलिकमका पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरको नेटवर्कमा आबद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा यस्तो सेवा उपलब्ध हुनेछ।
टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, जापान, कोरिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटालीमा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुने कम्पनीले बताएको छ।
यस्तै, कतार, साउदी, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्समा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिनेछ।
ग्राहकले डेटा रोमिङ सुविधा प्रयोग गर्न अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।