काठमाडौं। भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मीयाममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटक संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीले आकलन गरेका छन्। यस्तो आकलन भारतीय र नेपाली पर्यटन व्यवसायीबीच लखनउमा भएको बृहत् नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रममा गरिएको हो।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सकाएर स्वदेश फर्किएको छ।
जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी भारतीय पर्यकटकलाई नेपाल भित्र्याउन संघले मार्च ३ देखि ७ सम्म लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायी उपस्थित थिए। टुर अपरेटरलाई स्वागत गर्दै संघ अध्यक्ष शाहले नेपालका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए।
अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको र यसका लागि पर्याप्त संरचना तयार भइसकेको पनि बताए।
उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने जानकारी दिए। अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकबारे चर्चा गरेका थिए।
कार्यक्रममा भारतीय पर्यटन व्यवसायीका तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया र ट्राभल ट्रेड एसोसिएसन युपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यो कार्यक्रमको अझ बढी महत्त्व रहेको औंल्याए।
उनीहरुले छिमेकी नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी यहाँका पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए। उनीहरुले सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्क आवश्यक रहेको जनाउँदै यसबारे दुवै देशका सरकारलाई आ–आफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे।
कार्यक्रममा लुम्बिनीबाट सीपी श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ, पोखराबाट भरतराज पराजुली, चितवनबाट सुमन घिमिरे, मधेस प्रदेशबाट विजयकुमार झुनझुनवाला, बर्दियाबाट मोहन चौधरीले आ–आफ्नो क्षेत्र तथा प्रदेशको पर्यटन आकर्षणबारे चर्चा गर्दै भारतीय पर्यटकलाई नेपाल घुम्ने निमन्त्रणा दिए।
कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुति गरी आउँदो गर्मीयाममा आयोजना हुने गर्मी से बेहाल चलो नेपाल अभियानबारे पनि प्रस्तुति दिइएको थियो।
यसअघि जानकी मन्दिरमा विशेष पूजा गरी परम्पराअनुसारको चाँदी तथा तुलसीको विशेष मालासहित १६ वटा सगुन तथा उपहारका किस्ती प्रदेश पर्यटनमन्त्री सुनिता यादव तथा जानकी मन्दिरका महन्थबाट राममन्दिर अयोध्यातर्फ लैजान अध्यक्ष शाह तथा टोलीलाई हस्तान्तरण गरिएको थियो। नेपाल होटल संघ टोली राममन्दिर अयोध्यामा विशेष पूजाअर्चना गरी लखनउ पुगेको यिथो।