काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त) ले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन््। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै अर्थमन्त्रीमा पुनलाई नियुक्त गरेका हुन्। पुन पार्टीभित्र दाहाल निकट मानिन्छन्।
एमाले र माओवादीसहितको सत्ता गठबन्धनले मन्त्रालय टुंगो लगाएसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन दोस्रोपल्ट अर्थमन्त्री बनेका हुन्। यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ मा पुनले अर्थ मन्त्रालयको जिम्मा पाएका थिए।
सशस्त्र हिंसाबाट राजनीतिमा आएको माओवादी पार्टीमा आबद्ध हुनुको कारण पुनको राजनीतिक इतिहास संघर्षमय छ।
रोल्पाका स्थायी वासिन्दा पुन सदरमुकाम लिवाङमा पढ्न थालेसँगै २०४२ देखि अखिलमा आबद्ध भएर राजनीतिमा लागेका थिए। दाङमा क्याम्पस पढ्दा कृष्णबहादुर महराले पुनलाई राजनीतिमा आकर्षित गरेका थिए। उनी विद्यार्थी र राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिकामै रहँदै आएका छन्।
माओवादीले २०५२ फागुन १ देखि जनयुद्ध सुरु गर्ने तयारी गर्दै गर्दा माओवादीको रोल्पा जिल्ला कार्यालय सदस्य बनेका थिए।
जनयुद्ध सुरु भएको केही महिनापछि अर्थात् २६ वर्षको उमेरमा उनी माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए। २०५५ मा भएको नेकपा माओवादीको चौथो विस्तारित बैठकबाट केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि उनको भूमिका इन्चार्जसिपमा रुपान्तरण भएको थियो। त्यो केन्द्रीय समितिमा उनी उमेरले सबैभन्दा कान्छा थिए।
२०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए। २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिटब्युरो सदस्य भएका थिए। २०६२÷२०६३ को शान्ति प्रक्रियालगत्तै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बनेसँगै त्यसमा सदस्य बनेका थिए। त्यसपछि एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनपछि विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उनी सचिवमा निर्वाचित भएका थिए।
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनपछि २०७९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकबाट उनी उपमहासचिव भएका थिए। हाल उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज छन्। उनको एकसाथ राजनीतिक र सैन्य नेतृत्वको अवसर माओवादी जनयुद्धमा नेतृत्वदायी भूमिका अरु नेताको भन्दा भिन्न देखिन्छ।
उनी रोल्पा–प्यूठानको इन्चार्ज, रुकुम–सल्यानको इन्चार्ज र जाजरकोटको इन्चार्ज भएपछि २०५५ देखि ५९ जेठसम्म अनन्तले पश्चिम कमान्डको सैन्य हेडक्र्वाटरको जिम्मा लिएका थिए।
घर्तीगाउँ, घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महतगाउँलगायतमा माओवादीले गरेको ठूला कारबाही उनकै योजनामा बनेको थियो। त्यसक्रममा उनी कमिसार कि कमान्डर बनेका थिए। पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका पुनलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटाएको थियो। काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाइएको पूर्वी कमान्डको इन्चार्ज मोहन वैद्य ‘किरण थिए।
त्यसको सेकेन्डम्यान पुन जनमुक्ति सेनाको डिभिजन कमान्डरसमेत बनेका थिए। रोल्पामा जनयुद्धको आधार तयार गर्न नेतृत्वदायी भूमिका खेलेका पुन १० वर्षपछि विशेष कमान्डको इन्चार्ज बनेर २०६२÷६३ को जनआन्दोलनको आधार तयार गरेका थिए।
निरास हुन नजान्ने, अप्ठोरोमा खटाइने नेता
पुनलाई राजनीतिक जीवनमा सफल नेता भनिन्छ। कम उमेरमा राजनीतिक उचाइ चुमेका पुन आफूसँग विशिष्ट क्षमता छ भएको दाबी कहिल्यै गर्दैनन्। इमानपूर्वक कर्म गर्ने र धैर्यपूर्वक आशावादी हुने उनको विशेषता हो। हत्तपत्त निराश नहुने नेता पुन युद्ध हार्दा निराश भएनन्। सेनाका घेरामा पर्दा पनि आधा घन्टा, एक घन्टा निदाउन सक्ने विशेषता उनमा थियो।
जनयुद्धको प्रारम्भिक चरणमा मध्यपश्चिमका जिल्लाको नेतृत्व गरेका उनी २०५९ मा पूर्वी नेपालमा खटाइएका थिए। पूर्वी नेपालमा माओवादीको आधार तयार पार्ने र जनतामा माओवादी आन्दोलन स्थापित गर्न उनको प्रमुख नेतृत्वदायी भूमिका छ। २०६२ को सुरुतिर काठमाडौं उपत्यका र आसपासका जिल्लामा माओवादीको अवस्था संकटपूर्ण थियो। त्यतिबेला सैन्य तथा राजनीतिक कमान्डर बनाएर उनलाई खटाइयो।
फेरिएको मोर्चा
पुन २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी भएका थिए। एकातिर जनप्रतिनिधिको काम, अर्कोतर्फ पार्टीको जिम्मेवारी र त्योभन्दा पनि महत्त्वपूर्ण काम शान्ति प्रक्रियाको थियो। २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा पुनलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गरियो। गृह मन्त्रालय आएपछि त्यसको जिम्मेवारी लिने गरी शान्ति तथा पुनःनिर्माणमन्त्री बनाइयो।
गृह मन्त्रालय आयो, तर अनन्तलाई बनाइएन। दुई महिनापछि उनले शान्ति मन्त्रालय छोडे। २०६८ भदौ ५ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अनन्त अर्थमन्त्री बने। उनले १८ महिना अर्थमन्त्रालय सम्हाले। २०७० को संविधानसभा निर्वाचन पुनलाई पार्टीले पूर्व पठायो। तर, मोरङ ९ मा पराजित भए।
पुन २०७४ को निर्वाचनमा रोल्पाबाट विजयी भए। उनी २०७४ फागुन ३ देखि २०७७ पुस ५ सम्म ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने। २०७९ को मंसिरमा भएको निर्वाचनमा पुन रोल्पाबाट प्रतिनिधिसभामा विजयी भए।
पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहेका पुन विगतदेखि वर्तमानसम्म जुनसुकै जिम्मेवारीलाई पनि कुशलतापूर्वक निर्वाह गर्न सक्ने क्षमताका मानिन्छन्। २०६४ बाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए। त्यस्तै, २०६८ मा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए।