काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पुनर्गठित मन्त्रिपरिषद्का सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बुधबार बेलुकी राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त १७ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।यसअघि सोमबार तीन जना मन्त्रीले सपथ लिएकामा आज १७ जनालाई सपथ खुवाइएको हो।
सोमबार नेकपा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोरप्रसाद अर्यालले मन्त्री पदको सपथ लिएका थिए। योसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एसलगायत दलको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नयाँ गठबन्धन सहमतिअनुसार एमालेले आठ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षा मन्त्रालयमा हरि उप्रेती, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा भगवती चौधरी, खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह र भूमि व्यवस्थामा बलराम अधिकारी मन्त्री भएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट उपप्रधान तथा परराष्ट्रमा नरायणकाजी श्रेष्ठ, अर्थमा वर्षमान पुन, ऊर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा र पर्यटनमा हितबहादुर तामाङ रहेका छन्।
रास्वपाबाट उपप्रधान तथा गृहमा रवि लामिछाने, श्रममा डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठ नियुक्त भएका छन्।
नेकपा एसबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर धनबहादुर बुढाले सहरी विकासमन्त्रीको रुपमा सपथ लिएका छन्।