काठमाडौं। नयाँ वर्ष र चाडपर्वमा सामान खरिद बिक्री गर्दा धेरै सुनिने अफर मंगलबार र बुधबार नेपाली राजनीतिमा पनि खुबै चलाइएको छ। ठूला राजनीतिक दलहरूले साना दललाई प्रधानमन्त्रीसहित बढीभन्दा मन्त्री दिन अफरहरू अघि सारेका छन्।
यसो गर्नुको कारण भर्खरै सतहमा देखिएको चार दलीय गठबन्धन र सरकारबाट छुट्नुपरेको पीडाबोधमा रहेको नेपाली कांग्रेसले संसद्मा सरकार निर्माणका लागि आवश्यक बहुमत संख्या १३८ आ–आफूतिर ल्याउने रणनीति भएको बुझ्न कठिन छैन।
२१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको १० दलीय गठबन्धन भत्काएर एमालेसहितको हालका लागि चार दलीय गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै राजनीतिक कोर्ष नयाँ ढंगले अघि बढेको छ। मंगलबार कांग्रेसको कार्यसम्पादन समिति बैठकले चार दलीय गठबन्धन भत्काएर कांग्रेस सम्मिलित सरकार बनाउने पहल थालेसँगै विभिन्न साना दललाई पदीय अफरहरू अघि सारेको छ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भनिएको कांग्रेसले बुधबार बिहानै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि सोही प्रस्ताव गरेको बुझिएको छ। यद्यपि, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रास्वपालाई प्रधानमन्त्री अफर नगरेको बताइसकेका छन्।
नयाँ गठबन्धनतिर सकारात्मक भएका दलहरूलाई प्रतिपक्षी कांग्रेसले सरकारमा जान रोक्न कोसिस गरिरहेको छ। त्यसो त, मंगलबार बेलुका नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माधव नेपाललाई भेटेर पछिल्लो राजनीतिक समीकरणबारे छलफल गरेका थिए। अहिले नेकपा एसको केन्द्रीय समिति बैठक बसिरहेको छ।
२०७९ पुस १० मा सात दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले ठूलै जोखिम मोलेका थिए, पार्टीभित्रैबाट। देउवाले २०७४ पछि प्रचण्डलाई काँध थापेर दिएको समर्थनमा दुई–दुईपल्ट बेइमानी भएपछि कांग्रेसले वर्तमान गठबन्धनलाई तोड्ने रणनीति अगाडि सारेको हो।
२१ फागुनले जन्मिएको नयाँ गठबन्धनमा प्रधानमन्त्री रहिरहेका प्रचण्डलाई संसद्मा बहुमत पुग्न नदिन कांग्रेस सभापति देउवाले राजनीतिक भेटघाटलाई बाक्लो बनाएका छन्। यसैको पहलस्वरुप उनले नेकपा एसका अध्यक्ष नेता नेपाल, मधेसी दलका नेताहरू, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेताहरू, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपालगायत साना दलका नेतालाई भेट्दै छन्। भेटिरहेका छन्।
देउवाले २०७४ पछि प्रचण्डलाई काँध थापेर दिएको समर्थनमा दुई–दुईपल्ट बेइमानी भएपछि कांग्रेसले वर्तमान गठबन्धनलाई तोड्ने रणनीति अगाडि सारेको हो।
कांग्रेसले नयाँ सत्ता समीकरण फेरिएसँगै प्रचण्डलाई बहुमत पु¥याउन नदिन तथा सरकारको नेतृत्वबाटै हटाउन संसद्मा दोस्रो ठूलो दल एमालेलाई प्रधानमन्त्रीको अफर गरेको बुझिएको छ। यसको पुष्टि उपमहासचिव प्रदीप ज्ञवालीले गरिसकेका छन्।
सभापति देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन्। सत्तारुढ भइनसकेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी अध्यक्षसमेतलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको बताइन्छ। जसपाको बुधबार बसेको केन्द्रीय कार्यकारिण समिति बैठकले बालुवाटारमा तीन दल एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालाई मन्त्रालयको भाग टुंग्याइँदै गर्दा हालसम्म कसैको नाम दिएको छैन। कांग्रेसले समर्थन गर्न उपेन्द्र प्रधानमन्त्रीका लागि राजी हुन सक्ने स्थिति छ।
सभापति देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीलाई टेलिफोन गरेर सहकार्य प्रस्ताव राखेका छन्। देउवाले ठाकुरसँग भेटवार्ता गर्दै छन्। वर्तमान सरकारलाई बहुमत पु¥याउन नदिन देउवा रणनीति अहिले पनि जारी छ।
पछिल्लोपल्ट देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग पनि टेलिफोन संवाद गरेका थिए। बुधबार नै जनमत, लोसपा र नाउपाका नेताहरूलाई बूढानीलकण्ठ निवास बोलाएर नयाँ समीकरणमा नगई आफूतिर आउन उनले आग्रह गर्ने बुझिएको छ।
उपेन्द्र र नेता नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्ने र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने ठम्याइमा कांग्रेस छ। कांग्रेसले रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने निश्चित भए पनि रविले मान्ने संकेत देखिँदैन।
कांग्रेसलाई समीकरणबाट छुटाइएपछि अर्को समीकरण अनिवार्य रहेको प्रमुख सचेतक रमेश लेखक बताउँछन्। यसका लागि सभापति देउवाले विभिन्न राजनीतिक दलका नेताहरु भेटिरहेको उनको भनाइ छ।‘अहिले विकसित राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपेन्द्र यादव, मधेसी दलका नेताहरुलगायता साना दलका नेताहरुसँग आजै छलफल गर्ने कार्यक्रम छ’, लेखकले भने।
राजनीतिले बाटो बिराए अहिलेको गठबन्धनमा आबद्ध चारमध्ये उपेन्द्र बाहिरिए वर्तमान सरकार संकटमा पर्नेछ।
नेता नेपाललाई अहिलेको गठबन्धनमा जानबाट रोक्न सके कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट जोड्दा १२५ पुग्छ। यसमा चित्रबहादुर केसी पनि मिसिन सक्छन्। कांग्रेस गठबन्धनको १२६ सिट हुनेछ।
२६५ सदस्य संख्या रहेको प्रतिनिधिसभामा हालको अवस्थामा तत्काल कायम संख्याको बहुमत सदस्य १३८ सिट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन्। सुवास नेम्बाङको निधन भएका कारण एक सिट रिक्त छ।
नयाँ गठबन्धन दलमध्येको जसपा अनिर्णीत हुँदा सरकारलाई बहुमत पु¥याउन सकस हुने देखिन्छ। हाल जसपामा १२ सांसद छन्। राजनीतिले बाटो नबिराए अहिलेको गठबन्धनमा आबद्ध चारमध्ये उपेन्द्र बाहिरिए वर्तमान सरकार संकटमा पर्नेछ। पछिल्लो समय बनेको नयाँ गठबन्धन दलमध्ये एमाले ७७, माओवादी केन्द्र ३२, रास्वपा २१, जसपा १२ १४१ सिट संख्या रहेको छ, जुन बहुमतका लागि छ्यालब्याल हो।
नयाँ गठबन्धनको पहल गरिरहेको कांग्रेसको संसद्मा ८७, राप्रपा १४, (खुलिनसकेको नेकपा एस १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ४, राजमो १ र केही स्वतन्त्र सांसदलाई समेट्ने रणनीतिमा छ। नयाँ सत्ता गठबन्धनले पनि बहुमतका लागि कांग्रेसबाहेकका दललाई आफूतिर ल्याउने पहल गरिरहेको छ। साना दलसँग पनि सत्ता गठबन्धनले वार्ता गर्ने निर्णय बुधबार बालुवाटार बैठकले गरेको छ।