काठमाडौं। भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालबाहक रेल (कार्गो) सेवाले निरन्तरता नपाएपछि विराटनगरका उद्योगी व्यवसायी निराश बनेका छन्। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो रेल सेवा पुनः फर्किएन। गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी)मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म ८ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो। भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालबाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश बनेका छन्।
त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि नआएपछि उद्योगीमा निराशा छाएको हो। आयातको लागत न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ। नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन्।
सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको नेपाल उद्योग परिसंघ, कोशीका अध्यक्ष पवन सारडाले बताए। ‘नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन सकेको छैन,’ उनले भने।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताए। ‘कार्गोरेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो,’ उनले भने, ‘विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो छ।’
अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन्। त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको भनाइ छ। यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय बताएको छ। कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए।