दोलखा। पछिल्लो समय सहकारीहरू डुबेका, बचतकर्ताको पैसा खाएर भागेजस्ता विषय सतहमा आइरहेका छन्। सहकारीमा आएको समस्याका कारण यस क्षेत्रप्रति नागरिकको विश्वास गुमेको छ। केही सहकारी संकटमा पुग्दा सबै सहकारी ‘खत्तम’ हुन्छन् भन्ने भाष्य सिर्जना भएको छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा आमरुपमा फैलिएका खबरहरूले मुलुकका सबै सहकारीहरू समस्याग्रस्त भएजस्तो भान गराउँछ। वास्तवमा सहकारीहरू किसान, साना उद्यमी तथा व्यवसायीका लामो समयदेखिका सारथी हुन् भन्ने केही उदाहरण पनि छन्। सहकारीको साथ पाएकै कारण व्यवसाय तथा उद्यम सञ्चालन गरेका र सफल भएकाहरूको संख्या ठूलो छ। सानो–सानो आम्दानीलाई बचत गर्ने र आवश्यक परेको समयमा सहयोग लिन सकिने भएकाले सहकारी साना किसान तथा उद्यमीको आधारशीला ह्न्। पछिल्लो समय यस्ता संस्थातर्फ फैलिएको नकारात्मक चर्चाले केही प्रश्न उब्जाए पनि अझै धेरै सहकारी किसान वर्गका बलियो सारथीको रुपमा खडा भएका छन्।
भीमेश्वर बहुउद्देश्य सहकारी संस्था
कृषि क्षेत्रमा आबद्ध रहेका स्थानीयहरूलाई आत्मनिर्भर बनाउन सहकारीले महत्त्वूर्ण भूमिका निर्वाह गर्दछ भन्ने एक महत्त्वपूर्ण उदाहरण हो ‘भीमेश्वर बहुउद्देश्य सहकारी संस्था’। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटमा भीमेश्वर बहुउद्देश्य सहकारी सञ्चालित छ। कृषि पेसामा आबद्ध रहेका किसानहरूलाई सहयोग गर्ने ध्येयले सहकारीले उत्पादित वस्तुहरू संकलन तथा बजारीकरण गराइ आर्थिक तथा सामाजिक उन्नतिमा सहयोग गर्दै आएको छ। भिमेश्वर सहकारीमा लगभग ५२ सय सदस्य आबद्ध छन्। यस सहकारीले ८ प्रतिशत बचतको ब्याज दिरहेको छ भने ९ प्रतिशत ब्याजमा ऋण दिइरहेको छ। सहकारीले नयाँ व्यवसाय र उद्यममा लगानी गर्न सहयोग गर्ने, कुखुराको चल्ला ल्याइदिने, दाना दिने, मासु उठाइदिनेलगायत काम गरेको छ। भिमेश्वर सहकारीका अध्यक्ष सिताराम उप्रेती हालसम्म सहकारीमा कुनै समस्या नआएको बताउँछन्।
‘सहकारीको मूल उद्देश्य किसानलाई व्यावसायिक बनाएर उत्पादन बढाउने र सहकारीमा आबद्ध सदस्यको आर्थिक अवस्था बलियो बनाउने हो,’ अध्यक्ष उप्रेती भन्छन्, ‘यही विषयलाई दृष्टिगत गरी गाउँमा रहेका किसानलाई आत्मनिर्भर बनाउन विभिन्न तालिमसमेत प्रदान गर्दै आएका छौं।’ गाउँमा भएका किसानलाई आत्मनिर्भर बनाउन सके रोजगारीका लागि बाहिर जानुनपर्ने भएकाले सोही किसिमका सीप सिकाउने गरेको अध्यक्ष उप्रेतीको भनाइ छ।
यसले आफ्नै लगानीमा दाना उद्योग स्थापना गरी रोजगारीसमेत दिइरहेको छ। यसले कृषिमा आधारित अर्थात् पशुपन्छी प्लेट दाना उद्योग सञ्चालन गरी किसानहरूलाई मद्दत समेत गरिरहेको छ।
भिमेश्वर सहकारी यतिमा मात्रै सीमित छैन। यसले आफ्नै लगानीमा दाना उद्योग स्थापना गरी रोजगारीसमेत दिइरहेको छ। यसले कृषिमा आधारित अर्थात् पशुपन्छी प्लेट दाना उद्योग सञ्चालन गरी किसानहरूलाई मद्दत समेत गरिरहेको छ। भिमेश्वर सहकारीले २०७५ सालमा आफ्नै दाना उद्योग स्थापना गरे पनि कोरोना माहामारीका कारण सञ्चालनमा कठिनाई आएपछि २०७७ जेठबाट मात्र दाना उत्पादन गरेको थियो।
मन्दीको समय, अर्थतन्त्र चलायमान नभएको अवस्था सतहमा आए पनि यो सहकारीमा कुनै किसिमको समस्या आएको देखिँदैन। भिमेश्वर सहकारीले २ करोड ९५ लाख लगानी गरी पशुपन्छी प्लेट दाना उद्योग सञ्चालन ल्याएको थियोे। मासिक २०–२५ टन दाना उत्पादन गर्ने यसले मुख्यतः दोलखा र रामेछापमा दाना वितरण हुने गरेको छ। भिमेश्वर सहकारीका अनुसार मासिक २–३ लाख रुपैयाँको दाना बिक्री हुने गरेको छ। ‘सहकारीमार्फत नै किसानलाई कुखुरा हाल्न लगाउने र सहकारी आफैले लगानी गर्ने तथा बजार व्यवस्थापन गर्ने गरी यो कार्य सुरु गरेका थियौं,’ अध्यक्ष उप्रेती भन्छन्, केही हदसम्म यसले सफलता हात पारेको छ।’ भिमेश्वर सहकारीद्वारा सञ्चालित दाना उद्योगमा हाल ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यस्तै अप्रत्यक्ष रोजगारी पाउने ५० जना छन्। यस उद्योगमा प्रतिघण्टा दुई टन दाना उत्पादन क्षमता छ। सहकारी अझै व्यवसायिक दायरा विस्तार गर्ने सोचमा छ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी
३० वर्षदेखि सञ्चालित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थालाई पनि कुनै संकटले छोएको छैन। यो सहकारी २०५० सालमा स्थापना भएर २०५० मंसिर २ मा जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको थियो। सुरुमा २१ पुरुष र ४ महिला मिलेर ५ हजार ६ सय पुँजीबाट सुरु भएको यस सहकारीमा हाल २५ हजार ५ सय २३ सदस्य छन्। स्थापना कालमा यस संस्थाको कार्यक्षेत्र चरिकोटमा मात्रै सीमित थियो। पछि विस्तार गरेर २०७९ सालदेखि दोलखा, सिन्धुपाल्चोक र काठमाडौंमा समेत सेवा विस्तार भयो। हाल यस संस्थाले ११ स्थानबाट आफ्नो सेवा प्रदान गरिरहेको छ। कुल १२ करोड ६१ लाख ५५ हजार ४१७ रुपैयाँ पुँजी रहेको मिलिजुली सहकारीमा ४९ जनाले रोजगारी पाएका छन्। जसमा २८ महिला र २१ पुरुष छन्। सहकारीले आफ्ना सेयर सदस्य बनेको १० वर्ष पूरा भएका र ७० वर्ष उमेर पूरा भएका सदस्यलाई वार्षिक २ हजार ४ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। मिलीजुली सहकारीले आफ्नो संस्थामा आबद्ध भएका सदस्यलाई सुत्केरी हँुदा २ सन्तानसम्मका लागि सुत्केरी भत्तास्वरूप १ हजार रुपैयाँ पनि वितरण गर्छ। सहकारीले राहत कोष खडा गरी सदस्यको आमा, बुबा, श्रीमान श्रीमती र सदस्य स्वयंमको मृत्यु हँुदा हकवालालाई राहत दिने व्यवस्था पनि गरेको छ। मिलीजुली सहकारीले आफ्ना सदस्यलाई थप सेवा दिने गरी मनि ट्रान्स्फर सेवा, एटीएम सेवासहित मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ।
मिलीजुली सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ईश्वर न्यौपाने आफूहरू हालसम्म राम्रो अवस्थामा रहेको र नागरिकको सारथी बनेर बसेको बताउँछन्। ‘सहकारी सञ्चालन गरिरहँदा गलत बाटोतिर उक्साउने साथीभाइ यदाकदा भेटिने गरेका छन्,’ उनले भने, ‘यसमा हामी सचेत भएर अगाडी बढिरहेका छौं। खुट्टा तान्ने प्रवृत्ति पनि सहकारी क्षेत्रमा हाबी भएकाले यसबाट जोगिनुपर्छ र हालसम्म जोगिएका छौं।’
एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था
नेपाल सरकारको ३ खम्बे अर्थतन्त्रमध्ये एक सहकारी हो। सहरको अधिंकाश सहकारीमा धेरै समस्या देखिरहेका बेला गाउँका सहकारीमा समस्या देखिएका छैनन्। यस्तै मध्येको अर्को एउटा हो एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था। यो संस्था दोलखाको जिरी नगरपालीका वडा नं ५ मा छ। १५ हजार ५ सय ९१ सदस्य रहेको यस सहकारी सहज र बलियो अवस्थामा छ।
केही सहकारीहरूले जानिनजानि गरेको गल्तीले समग्र सहकारीमाथि प्रश्न उठेको एकीकृत फ्रेन्डसिप सहकारीका अध्यक्ष भुमिराज खड्का बताउँछन्। ‘गाउँमा सञ्चालन भएका धेरैजसो सहकारी संस्थामा सहरमाजस्तो समस्या छैनन्,’ अध्यक्ष खड्का भन्छन्, ‘थोरै सहकारीले नराम्रो गर्दा अरु सहकारीमा नकारात्मक असर पुगेको छ। यो अवस्था सुधार हुन आवश्यक छ।’ अध्यक्ष खड्काका अनुसार नेपालभर सञ्चालनमा रहेका सहकारीमध्ये १० प्रतिशत सहकारीमा समस्या देखिएको छ। त्यसबाहेक ९० प्रतिशत सहकारी राम्रो अवस्थामा सञ्चालित छन्। ‘नराम्रा सहकारीको बढी चर्चा भएकाले राम्रा सहकारी ओझेलमा परेका छन्,’ अध्यक्ष खड्का भन्छन्, ‘छिटपुट घटना आउँदैमा सबै सहकारी नराम्रा छन् भन्ने भाष्यलाई चिर्न आवश्यक छ।’
हाम्रो जनकल्याण बचत तथा सहकारी संस्था
समस्यामा नआएका सहकारी संस्थामध्येकै अर्को संस्था हो ‘हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था’। यो सहकारीले विगत २७ वर्षदेखि सेवा दिँदै आएको छ। हाम्रो जनकल्याण संस्थामा ९ हजार १ सय ६७ सदस्य छन्। यस सहकारीको कुल पुँजी ६ करोड छ। दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ चरिकोटमा सञ्चालित हाम्रो जनकल्याण सहकारीले आफ्ना सेयर सदस्यको सम्बन्धलाई बलियो र नियमित बनाउन प्रत्येक दिन कार्यालयमा उपस्थित हुने सेयर सदस्यमध्येबाट छनोट गरी महिनाको लक्की सदस्य घोषणा गर्ने गरेको छ। यस संस्थाले तरकारी खेती, गाई पालन, कुखुरा पालन गर्ने उद्यमीलाई सहयोग गर्दै आएको छ। साथै गृहिणी महिलाको आर्थिक आम्दानीको पाटोलाई मजबुत बनाउँदै लगेको छ।
गृहिणी महिलाहरूले मकैको खोस्टाबाट उत्पादन गरेको चकटीलाई बजारीकरण गर्ने काम यस सहकारीले गरेको छ। यसले गर्दा गृहिणीलाई समेत फाइदा पुगेको छ। घरमा बसेका महिलालाई ढाका ऊनीको कपडा बनाउने तालिमसमेत सहकारीले प्रदान गर्दै आएको छ। कृषकलाई कृषि क्षेत्रमा आवश्यक तालिमहरू दिएर पे्ररित गर्ने काम पनि हाम्रो जनकल्याण सहकारीले गरेको छ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्था
जनसचेतन बचत तथा ऋण सहकारी संस्था विगत तीन दशकदेखि सञ्चालनमा छ। २०५० साल असोज २२ मा २८ जना शिक्षक, समाजसेवी, किसान, व्यापारी समेतगरी ३४ जना मिलेर यो सहकारी खोलिएको थियो। यस संस्थाको कुल सेयर पुँजी १६ करोड ६७ लाख २४ हजार रुपैयाँ छ। यस संस्थामा हाल २७ हजार ८ सय ७८ जना सदस्य छन्।
सहकारीले सदस्यलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिने उद्देश्यले ७५ वर्षभन्दा माथि उमेर भएका वृद्ध सदस्यलाई मासिक ५०० रुपैयाँका दरले भत्ता दिने गरेको छ। जनसचेतन सहकारीले आफ्नो संस्थामा आबद्ध सेयर सदस्यमध्येबाट ६५ वर्ष उमेर पुगी ७० वर्ष ननाघेका, सदस्यता लिएको ५ वर्ष पूरा भएका ६० जनालाई वार्षिक रूपमा विभिन्न तीर्थस्थलको अवलोकन भ्रमण समेत गराउँदै आएको छ। संस्थाको हालको आर्थिक तथा वित्तीय अवस्था राम्रो भएको जनसचेतन सहकारीका अध्यक्ष हेमन्तकुमार चौलागाई बताउँछन्। ‘सहकारी खत्तम भएको हल्लाका बाछिटा केही मात्रामा हाम्रोमा पनि परेका छन्। तर, जनसचेतन सहकारी संस्थाका सदस्यमा संस्था डुब्छ कि भन्ने संशय छैन,’ अध्यक्ष चौलागाईं भन्छन्, ‘संस्थाको वृद्धिसँगै बचत पनि बढ्दै गएको छ। अझै दीर्घकालीन बचतमा जोड दिँदै छौं।’
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ। त्यसमा पनि संस्थाले सघाउँदै आएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि ऋण दिने व्यवस्था नभए पनि मिटरब्याजीसँग ऋण लिएर सदस्यहरू विदेशिने अवस्था नआओस् भनेर सहुलियतमा ऋण दिने गरेको जनसचेत सहकारीका अध्यक्ष चौलागाईं बताउँछन्।
नवजागरण बचत तथा ऋण सहकारी संस्था
२५ वर्षअघि २५ जना महिलाको सक्रियताबाट नवजागरण बचत तथा सहकारी संस्थाको सुरुवात गरिएको थियो। मासिक १० रुपैयाँ संकलन गरी ऋण प्रवाह गर्न थालेको संस्था हाल ६९ करोडभन्दा बढीको कारोबार गर्नसक्ने भइसकेको छ। रामेछापको मन्थली नगरपालिका १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था २०५५ साल साउन १२ गते स्थापना भएको हो। महिलाहरूबाट सुरु भएको यस सहकारी संस्थामा २ वर्षसम्म महिलाहरू मात्र समेटिएर काम गरेका थिए। २०५७ सालदेखि भने पुरुषहरूलाई पनि समेटिएर यस संस्थाले काम गर्न थालेको हो। यस संस्थामा ९ हजार २४९ सदस्य छन् भने ४ करोड ७६ लाख ८३ हजार रुपैयाँ रहेको छ।
यस संस्थाले आफ्नो सदस्यका लागि लाभान्वित कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। आर्थिक अवस्था कमजोर रहेका सेयर सदस्यका छोरा÷छोरीहरूलाई शैक्षिक सामग्री वितरण, हाजिरी जवाफ प्रतियोगिता, ज्येष्ठ सेयर सदस्य सम्मान कार्यक्रमदेखि उत्कृष्ट सहकारी अवलोकन कार्यक्रमसमेत यस संस्थाले सञ्चालन गर्दै आएको छ।
नवजागरण सहकारीले आफ्ना सदस्यलाई अस्पताल उपचार छूटको सुविधा, सुरक्षित मातृत्व कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम, उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारी, जिल्लाकै उत्कृष्ट नागरिक सम्मान कार्यक्रहरू गर्दै आएको छ। त्यस्तै आधुनिक सूचना प्रविधिको उपयोग गर्दै संस्थाका सम्पूर्ण कारोबार सफ्टवयेरमार्फत् गरेको र मोबाइल बैकिङ एटिएमजस्ता सेवा प्रवाह गर्दैै आएको छ। सदस्यहरूको सेवालाई ध्यानमा राख्दै कारोबारको विवरण मोबाइलमा म्यासेजबाट जानकारी समेत यस संस्थाले दनिे गरेको छ। यसको आफ्नै एप्स छ। सोही माध्यमबाट घरमै बसेर निःशुल्क ब्यालेन्स जानकारी, मोबाइल तथा डिश होमको रिचार्ज, मिनी स्टेटमेन्ट, रकम ट्रान्सफर, इन्टरनेट, बिजुलीको बिल भुक्तानी गर्ने सेवाहरू समेत दिने गरेको छ।
नवजागरण सहकारीले आफ्ना सदस्यका लागि राहत कार्यक्रम, सदस्यका आमाबुबाको मृत्यु भएमा नगद २० हजार र छोराछोरीको मृत्यु भएमा नगद ३ हजार प्रदान गर्ने गरेको छ। संस्थाबाट सदस्यले ऋण लिएमा ऋण रकम बराबरको बिमा सुविधा दनिे गरेको छ। नवजागरणका सचिव सोमेश थापा सहरमा देखिएको जस्तो सहकारीको समस्या गाउँमा नआउने बताउँछन्। ‘सहरी क्षेत्रमा चलेका सहकारी ठूलो हुने नाममा ब्यालेन्स सिट बढाउने गरिएको पाइएको छ। ऐनभन्दा फरक तरिकाले चलेका पनि छन्,’ सचिव थापा भन्छन्, ‘त्यसले गर्दा सहकारीमा समस्या आएको हो,’ थापा भन्छन्। उनका अनुसार गाउँमा चलेका सहकारी नीति र विधानअनुसार चलेकाले गाउँका सहकारीमा कुनै समस्या आउने छैन।