काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले खेल र खेलाडीको क्षमता अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलमा आबद्धता जनाउँदै आएको बताएको छ।
क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीलाई एनसेलले सहयोग गर्दै आएको हो।
बुधबार सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो। ‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ थिमका साथ एनसेलले यी खेलमा सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायत फुटबल खेलमा आबद्ध भएको थियो। विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो।
‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ।
चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँ नगद पुरस्कार पनि उपलब्ध गराएको थियो।
एनसेलले गत भदौमा सेवा सञ्चालनको १८औं वार्षिकोत्सव अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो।
यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ।
यसैगरी गल्फमा, गल्फ र पर्यटन प्रवर्द्धनसहित आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने उद्देश्यले चैत १ देखि ३ सम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ हुँदै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगर पनि यो कार्यक्रममा सहआयोजकका रूपमा आबद्ध भएका छन्।
यसबाहेक गत मंसिरमा ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ पनि आयोजना गरिएको थियो। खेलाडी राष्ट्रिय गौरव हुन् र यस्ता सहकार्यले देशमा खेल, युवा विकास, सामाजिक एकतालगायत क्षेत्रमा ठूलो महत्त्व राख्ने कम्पनीले जनाएको छ।