काठमाडौं। पर्यटकीय सिजन सुरु भएसँगै सुस्ताएको एयरलाइन्सको बिजनेश चलायमान हुन थालेको छ। पदयात्रा र पर्वतारोहणका लागि आउने पर्यटकहरुको संख्या बढ्न थालेसँगै जहाज र हेलिकोप्टरको बुकिङ उत्साजनक भइरहेको व्यवसायीहरुको भनाइ छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम समिट एयरका अकाउन्टेवल म्यानेजर मनोज कार्कीले पर्यटकीय सिजन सुरुभएसँगै बुकिङ बढ्न थालेको बताए। खासगरी दुर्गम क्षेत्र एवंम पर्यटकीय क्षेत्र लुक्ला र जोमसोम क्षेत्रको उडान यो सिजनमा उल्लेख्य हुने गरेको छ। मार्च १५( चैत)देखि उडान संख्या बढ्ने र मे(जेठ) अन्तिम सम्म ती क्षेत्रमा उडान धेरै हुने गरेको छ। विगतको वर्षको तुलनामा यो पटक बुकिङ उत्साहजनक भने नभएको कार्कीको भनाइ छ। समिटले लुक्लामा दैनिक ४ देखि ५ र जोमसोममा २ देखि ३ उडान गर्दै आएको छ।
नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ। तारा एयरका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर राप्के टी शेर्पाले विगतको महिनाको तुलनामा बुकिङ केहि बढेको बताए। लुक्लामा उडान बढेपनि जोमसोममा भने अहिले उडान खुलिनसकेको उनको भनाइ छ। ‘नेपालमा आउदा बिमा शुल्क चर्को तिर्नुपर्ने र हवाई भाडा महंगो भएकोले पनि विगतको वर्षको तुलनामा केहि संख्या घट्ने अनुमान अहिले ट्राभल एण्ड ट्रेकिङ कम्पनीले दिइरहेको छ,‘ म्यानेजर शेर्पाले भने, ‘युक्रेन,रसिया र इजरायलमा भएको युद्धको असर पनि नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिन्छ।’ अहिले ताराले काठमाडौंबाट लुक्लामा दैनिक ६ उडान गरिरहेको छ। जोमसोममा भने ११ मार्चबाट गर्ने गरी तयारी थालेको जनाएको छ।
हेलि एभरेष्टका बजार प्रमुख सिताराम सापकोटाले मे अन्तिमसम्मका लागि हेलिकोप्टरहरु बुकिङ हुन थालेको बताए। विगतको वर्षको तुलनामा बुकिङ कम भएपनि विगतको महिनाको भन्दा राम्रो भइरहेको उनको भनाइ छ। हिमाल आरोहणमा आउनेहरुका लागि बिकल्पको रुपमा चिनको तिब्बतबाट पनि बाटो खुलेकोले नेपाल आउनेको संख्यामा केहि कमी हुन सक्ने अनुमान
व्यवसायीहरुबाटै हुन थालेको उनले बताए। समग्रमा हेलिकोप्टरहरुको बिजनेशले लय लिन थालेको उनी बताउछन्। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले पर्यटकीय सिजन सुरु भएसँगै जहाजमा यात्रुको संख्या बढेको बताए। खासगरी पोखरा लगाएतका क्षेत्रमा जाने यात्रुहरुको संख्यामा बृद्धि हुन थालेको उनको भनाइ छ।
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार विदेशी र स्वदेशी पर्यटकहरुले यात्रा गर्नेको संख्या बढ्न थालेको छ। यो सिजनमा बाह्य मात्र हैन आन्तरिक पर्यटकहरु पनि घुमघाममा निस्कने भएकोले जहाज चढ्नेको संख्या बढेको उनले बताए।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पनि गत महिनाको भन्दा अहिले धेरै यात्रुहरु जहाजको यात्रा गर्न थालेको बताए। विदेशी एवंम स्वदेशी पर्यटकहरुको चहपहल बढेको उनको भनाइ छ।
सौर्य एयरलाइन्सका बजार प्रबन्धक मुकेश खनालले भारतीय पर्यटकहरुको संख्या बढ्न थालेको बताए। जेट बिमान मार्फत विराटनगर र भद्रपुर उडान गरिरहेको सौर्यमा बुकिङ उत्साजनक रहेको उनले बताए। अहिलेको बुकिङ स्थीति देख्दा निरास हुनुपर्ने अवस्था देखिदैन, बजार प्रबन्धक खनालले भने।
काठमाडौंको आन्तरिक विमानस्थलबाट अहिले दैनिक १६ देखि १८ हजार यात्रुले यात्रा गरिरहेका छन्। केहि महिना अघि यो संख्या १० देखि १२ हजारमा सिमित रहेको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेबु्रअरीमा हवाई मार्ग हुँदै ९७ हजार ४२६ पर्यटक आएका छन्।