काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा माधव सापकोटालाई अघि सार्ने तयारी गरेका छन्।
कांग्रेससँगको गठबन्धनमा मन्त्री बनाएका व्यक्तिलाई नदोहोराउने सोच बनाएका प्रधानमन्त्री दाहालले सञ्चार मन्त्रीमा माओवादी केन्द्रकै सापकोटालाई नियुक्त गर्ने तयारी थालेका हुन्।
सामान्यतया विगतको अभ्यास हेर्दा सञ्चार मन्त्री सरकारको प्रवक्ता रहने प्रचलन छ भने सरकार प्रमुख रहेको दलको व्यक्तिलाई नै सरकारी प्रवक्ता राखिने अभ्यास पनि छ। सोहीअनुसार प्रधानमन्त्रीले सञ्चार मन्त्रालय आफ्नो पार्टीको भागमा राखेर सञ्चार मन्त्रीमा सापकोटालाई अघि सार्न लागेको बताइन्छ।
‘यदि मन्त्री दोहोर्याउने किसिमको धारणा प्रधानमन्त्रीमा भएको भए निवर्तमान मन्त्री रेखा शर्माले नै सञ्चारमन्त्री पाउने सम्भावना बढी थियो,’ प्रधानमन्त्री स्रोतले भन्यो, ‘तर, हालै बाहिरिएका मन्त्री नदोहोराउने भन्ने कुरा भएकाले माधवलाई सञ्चार जिम्मा दिने तयारी भइरहेको छ।’
माधव सापकोटा आफ्नो पार्टीको सरकार, प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रको बचाउमा संसद्भित्र तथा बाहिर दरिलो रुपमा प्रस्तुत हुँदै आएका छन्। माओवादी केन्द्रका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाका भतिजा माधव प्रखर वक्ता तथा प्रधानमन्त्री निकट पनि मानिन्छन्। सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रुपमासापकोटा प्रतिनिधिसभामा निर्वाचित हुन्।
सरकारका निर्णय सार्वजनिक गर्न प्रवक्ता आवश्यक पर्ने भएकाले सापकोटालाई सञ्चारमन्त्री चाँडै नियुक्त गरी प्रवक्ताको जिम्मेवारी दिने गर्ने तयारी सरकारको छ। यसअघि पनि सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता सरकार प्रमुख रहेको दलले नै लिने गरेको अभ्यास रहेकाले यसमा सत्तारुढ दलबीच भागबन्डा विवाद नहुने देखिन्छ।