काठमाडौं। तत्कालीन सेञ्चुरी कमर्सियल (हाल प्रभु) बैंकको कर्जा प्रकरणमा ठूलो परिमाणमा ऋण दिँदा बैंक सञ्चालक समिति जिम्मेवार हुनुपर्ने भए पनि कर्मचारीलाई मात्रै दोषी बनाइएको छ। सेञ्चुरीको २ अर्ब रुपैयाँ बढी ऋण दुरुपयोग प्रकरणमा सञ्चालक खुलेआम हिडिरहँदा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)द्वयसहित १० जना कर्मचारी भने अनुसन्धानका लागि थुनामा छन्।
सेञ्चुरीमा त्यतिबेला २० करोड रुपैयाँ बढी ऋणी लगानी गर्दा सञ्चालक समितिले स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको थियो। बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले सीईओदेखि विभिन्न तहका कर्मचारी र समितिलाई ऋण प्रवाह गर्न सक्ने अधिकार तोकेको हुन्छ र निश्चित रकमभन्दा बढी ऋण दिँदा सञ्चालक समिति नै जिम्मेवार हुनुपर्छ। त्यसलाई नियामक नेपाल राष्ट्र बैंकले पनि नियमन गरिरहेको हुन्छ।
सेञ्चुरीले २०७७ मा देउराली सहकारी संस्थाका सञ्चालक र पदाधिकारीको नाममा रहेका पूजा मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीलाई कुल २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा दिएको थियो।
त्यसमध्ये बैंकले थ्री ब्रदर्स मार्केटिङलाई चारपटक गरेर कुल ८० करोड ५५ लाख, पूजा ट्रेडिङ एन्ड मार्केटिङलाई ७५ करोड ९० लाख, अन्नपूर्ण डिस्टिलरीलाई १४ करोड ६२ लाख, पूजा मार्केटिङलाई ४८ करोड ५८ लाख र देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई दुईपटक गरी २३ लाख ५१ हजार रुपैयाँ कर्जा जग्गा धितो राखेर दिएको थियो।
पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीका सञ्चालक चौलागाईं हुन् भने पूजा ट्रेडिङ एन्ड मार्केटिङ र थ्री ब्रदर्स मार्केटिङ सञ्चालक चौलागाईंकी श्रीमती पूजा खत्री चौलागाईं हुन्। थ्री ब्रदर्स मार्केटिङमा देउराली सहकारीकै अर्का सञ्चालक राजेन्द्र खत्रीको लगानी छ। खत्री पूजा खत्रीका आफन्त हुन्।
बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले सीईओदेखि विभिन्न तहका कर्मचारी र समितिलाई ऋण प्रवाह गर्न सक्ने अधिकार तोकेको हुन्छ र निश्चित रकमभन्दा बढी ऋण दिँदा सञ्चालक समिति नै जिम्मेवार हुनुपर्छ। त्यसलाई नियामक नेपाल राष्ट्र बैंकले पनि नियमन गरिरहेको हुन्छ।
चौलागाईंले लिएको व्यक्तिगत कर्जाबाहेक सबै कर्जा अनिवार्य रुपमा सञ्चालक समितिमा जानुपर्ने प्रकृतिका थिए। जति बेला देउरालीका सञ्चालक र पदाधिकारीका नाममा रहेको कम्पनीलाई ऋण दिइएको थियो, त्यतिबेला सीईओ तुलसीराम गौतम र डिसीईओ मनोज न्यौपाने (गौतमले छाडेपछि बैंक प्रभुसँग मर्ज हुनुअघिसम्म सीईओ) थिए।
आफ्नो सीमाभन्दा माथिको ऋण दिँदा सीईओसहित कर्मचारीको काम भनेको कर्जा फाइल अध्ययन मूल्यांकन मात्रै हो। त्यतिबेला सेञ्चुरी सञ्चालक समितिमा अध्यक्ष राजेश श्रेष्ठ, सदस्यहरूमा लक्ष्मण कुमार श्रेष्ठ, उमा कुमारी श्रेष्ठ, राजेशराज दली र महेशकुमार अग्रवाल थिए। सीईओ गौतमले कर्जाको फाइल पेस गरेपछि सञ्चालक समितिले नै त्यसलाई स्वीकृति दिएको हो।
देउरालीका अध्यक्ष चौलागाईं सेञ्चुरीका सीईओ गौतमका चिनजानका व्यक्ति थिए। माछापुच्छ«े बैंकको सीईओ हुँदा नै गौतमले जग्गा धितो राखेर चौलागाईंलाई १८ करोड रुपैयाँ ‘टर्म लोन’ दिएका थिए।
माछापुच्छ्रेमा भएको चिनजान र राम्रो प्रोफाइल भएकाले गौतमले चौलागाईंको कर्जा फाइल अघि बढाएका थिए। चौलागाईले सेञ्चुरीबाट ऋण लिँदा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सुनसरी र झापामा विभिन्न १८ स्थानका व्यक्तिगत कम्पनीको नाममा रहेका घरजग्गा धितो राखेर कर्जा लिएका थिए।
बैंकले धितो मूल्यांकनभन्दा ४६.८६ प्रतिशत बढी कर्जा दिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अधिक मूल्यांकन गरेर कर्जा दिएको ठहर गर्दै सीईओ, डिसीईओदेखि कर्जा विभागमा कार्यरत सबै कर्मचारीलाई पक्राउ गरी थुना राखेको छ।
सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार सहकारी ठगी छानबिनमा पक्राउ परेका चौलागाईंको बयानका आधारमा सञ्चुरीका कर्मचारीहरू पक्राउ गरिएको हो। ‘देउरालीमा बचतकर्ताको पैसा हिनामिना भएको विषयमा छानबिन गर्दै जाँदा आएको बयान र प्रमाणका आधारमा सञ्चुरीका कर्मचारी पक्राउ गरिएको हो,’ सीआईबी प्रवक्ता बोगटीले क्यापिटल नेपालसँग भने, ‘बैंक कर्मचारीले सञ्चालकको नाम लिए, उनीहरू पनि छानबिनका लागि पक्राउ पर्नेछन्।’
प्रभु बैंकमा सेञ्चुरी गाभिएपछि डिसीईओ न्यौपाने, चिप क्रेडिट म्यानेजर दिलीप बराल, रिस्क अफिसर दीपेश प्रधान, चिप क्रेडिट अफिसर राजेश भण्डारी र म्यानेजर रमन श्रेष्ठ कार्यरत रहेकै बेला पक्राउ परेका हुन् भने पक्राउ पर्नेमध्ये सेञ्चुरीका पूर्वसीईओ तुलसीराम गौतम, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर र सुनील बस्नेत भने अवकास भइसकेका हुन्।