काठमाडौं। मुलुक गम्भीर आर्थिक संकटमा परेको विश्लेषण भइरहेका बेला सत्ता गठबन्धनमा फेरबदल भएको छ। सत्ता गठबन्धन फेरिएसँगै निजी क्षेत्र पनि अब केही होला कि भन्ने आशमा छ।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहँदा अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको टुंगो लागिसकेको छ। तर, सरकारमा सहभागी हुने राजनीतिक दल परिवर्तनको चर्चासँगै अर्थतन्त्रको ‘ब्यारोमिटर’ मानिने सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ।
सत्ता समीकरण फेरिएकै दिन सेयर बजार सूचक ६ प्रतिशत बिन्दुले बढ्नुलाई निजी क्षेत्रले सकरात्मक मानेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा कठिन अवस्थाबाट गुज्रिएको अर्थतन्त्रलाई नयाँ आउने अर्थमन्त्रीले राम्रोसँग ‘लिड’ गरेर लैजाने आशा राख्छिन्।
‘तत्कालीन अवस्थामा अर्थतन्त्र सुधारका लागि आमूल परिवर्तनको खाँचो औंल्याइरहेका बेला सत्ता समीकरणमा आएको फेरबदलले आशा जगाएको छ,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘नयाँ मन्त्रीले नयाँ जोशका साथ काम गर्ने आशा लिएका छौं। निजी क्षेत्र सदैव सबैलाई साथ दिन तयार छ।’
महासंघकै उपाध्यक्ष हेमराज ढकाल अर्थतन्त्र सुधारमा प्रधानमन्त्री दाहाल ‘कन्भिन्स’ हुँदा पनि अर्थमन्त्री बाधक बन्दाको परिणाम मुलुकले भोगिरहेको बताउँछन्। ‘निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री डा. प्रकाशरण महतलाई पटक–पटक सुझाव दिइए पनि बेवास्ता भयो,’ उपाध्यक्ष ढकालले भने, ‘एक्कासि भएको परिवर्तनले नयाँ आशा जगाएको छ। अब आउने नयाँ मन्त्रीले सहजीकरण गरेर जाने अपेक्षा निजी क्षेत्रलाई छ।’
बैंकको ब्याज केही घट्नु, वित्तीय क्षेत्रमा लगानीयोग्य रकम (तरलता) बढ्नु, विदेशी विनिमय सञ्चिति बढ्नु र भुक्तानी सन्तुलन कायम रहनुलाई अर्थतन्त्र सुधारियो भन्दै अर्थमन्त्री महत हिँडेको र समस्या समाधानमा चासो नदिएकै कारण अर्थतन्त्र थप समस्यामा परेको बुझाइ निजी क्षेत्रको छ।
प्रधानमन्त्री दाहाल भने अर्थतन्त्र सुधारोन्मुख देखिए पनि आशातीत सुधार नआएको र त्यसका लागि ठूलै परिवर्तन आवश्यक रहेकाले आफू त्यसमा निरन्तर लागिरहेको बताउँदै आएका थिए।
नयाँ सत्ता समीकरणमा प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकबीच ‘ट्युनिङ’ मिल्ने र अहिलेका धेरै नीतिगत समस्या समाधान हुने उपाध्यक्ष ढकालको भनाइ छ। अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री गम्भीर भए पनि सरकारको भित्री संरचना नमिलेर आर्थिक एजेन्डा ओझेल परेको बुझाइ निजी क्षेत्रको छ। यसअघि भए/गरेका गल्तीलाई सच्याउँदै सरकार नयाँ ढंगबाट अघि बढ्ने आशा निजी क्षेत्रले राखेको छ।
महासंघको उद्योग समिति सभापति राजेशकुमार अग्रवाल पनि उद्योगी, व्यवसायीको मात्र नभएर आमउपभोक्ताको समेत मनोबल गिरेको अवस्थामा भएको गठबन्धन परिवर्तनले केही आशा जागेको ठान्छन्। ’यसअघि धेरै पटक दिएको सुझाव अर्थमन्त्रीज्यूले बेवास्ता गर्नुभयो,‘ सभापति अग्रवालले भने, ’नयाँ आउने मन्त्रीज्यूले निजी क्षेत्रको सुझावलाई पनि समेटेर काम गर्नुहुन्छ भन्ने आशमा छौं।‘
नियमित अवस्थाको भन्दा उद्योग, व्यवसाय अहिले ५० प्रतिशतभन्दा कममा चलेको छ। आन्तरिक उत्पादन र आयात घटेका कारण राजस्व संकलन पनि सहज भएको छैन। ‘सरकारले उद्योग, व्यवसाय पूर्ण क्षमतामा चल्ने वातावरण तत्कालै बनाउनतिर लाग्नुपर्छ’, सभापति अग्रवालले भने, ‘राजनीतिक दलको एकांगीपनबाट बाहिर निस्किएर तत्काल सबैसँग छलफल गरी समस्या समधानमा लाग्नुपर्छ।’
तत्कालीन अवस्थामा अर्थतन्त्र सुधारका लागि आमूल परिवर्तनको खाँचो औंल्याइरहेका बेला सत्ता समीकरणमा आएको फेरबदलले आशा जगाएको निजी क्षेत्रको तर्क।
काठमाडौंका म्यारियटका सञ्चालक एवं उद्योगी शशिकान्त अग्रवालले विगत एक वर्षदेखि अर्थतन्त्र सुधारमा कुनै उपलब्धि हासिल नगरेका कारण निजी क्षेत्र निरास भइरहेको बेला सत्ता गठबन्धन परिवर्तन हुनु सकरात्मक भएको बताए। ‘एक वर्षसम्म केही सुधार आएन अब नयाँ गर्नुपर्छ भन्ने आक्रोश सोमबार बढेको सेयर बजारले पनि देखाएको छ,’ उद्योगी अग्रवालले भने, ‘यो आशालाई नयाँ सरकारले निरासामा पक्कै लैजाने छैन।’
चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अहिलेका अर्थमन्त्री राजस्वमुखी हुँदा अर्थतन्त्रमा कुनै सुधार नदेखिएको बताए। सत्ता गठबन्धन परिवर्तनले आशाका किरण पलाएको भन्दै निजी क्षेत्रलाई साथमै लिएर सरकार अर्थतन्त्र सुधारमा अगाडि बढ्नुको विकल्प नभएको ठान्छन्, श्रेष्ठ।