काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलनअघि नै वित्तीय क्षेत्रका समस्या समाधान गरिने बताएका छन्।
आइतबार आफ्नो क्षेत्रका समस्याको पोको बोकेर सिंहदरबार छिरेका बैंकरहरूसँग प्रधानमन्त्री दाहालले वित्तीय क्षेत्रमा देखिएका तमाम समस्या समाधान हुने आश्वासन दिएका हुन्।
सत्ता गठबन्धन फेरबदलको तीव्र दबाबमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बैंकरहरूलाई भेट दिएका हुन्। फागुन १४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज न्यौपाने (तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ) सहित १० बैंकरलाई पक्राउ गरेपछि वित्तीय क्षेत्र आतंकित छ।
नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले बैंकर पक्राउ परेको विषयमा सुरुमा प्रधानमन्त्री दाहालले अनविज्ञता प्रकट गरे पनि ब्रिफिङपछि सकारात्मक जवाफ दिएको बताए। ‘सीआईबीले हेरिरहेको विषय के हो, बुझेर भविष्यमा समस्या नआउने गरी समाधानको पक्षमा काम गर्ने आश्वासन दिनुभएको छ,’ एनबीए अध्यक्ष केसीले भने, ‘बैंकिङ क्षेत्रमा देखिएका तमाम समस्यालाई लगानी सम्मेलनअगावै समाधान गर्ने आश्वासन दिनुभएको छ।’
सरकारले वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने घोषणा गरेको छ। अर्थतन्त्रले विस्तारै लय समात्दै गरेको र बैंकहरूले कर्जा लगानी गर्ने समय आएको अवस्थामा कर्जा दिएकै कारण बैंकरलाई सीआईबीले थुन्नु समग्र अर्थतन्त्रका लागि नै हानिकारक हुने प्रधानमन्त्रीको बुझाइ रहेको अध्यक्ष केसीले सुनाए।
‘विदेशी विनिमय सञ्चिति राम्रो छ। वित्तीय बजारमा लगानीयोग्य रकम (तरलता) पर्याप्त छ। लगानी वातावरण सुधार हुँदै गएका बेला र लगानी सम्मेलनको मुखैमा बैंकरलाई पक्राउ गर्नु राम्रो होइन,’ अध्यक्ष केसीले प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै भने, ‘सीआईबीले किन बैंकर पक्राउ गरेको हो भन्ने विषयमा तत्काल बुझेर समाधान के हुन्छ, हेर्छु। निर्दोष कारबाहीको भागिदार बन्नुहुन्न।’
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गभर्नर महाप्रसाद अधिकारी र सीआईबी प्रमुखसहितका पदाधिकारीलाई भेटेर आफ्नो गुनासा सुनाएका बैंकरले आइतबार साँझ छोटो समय प्रधानमन्त्रीलाई समस्या जाहेर गरेका हुन्।
पछिल्लो पटक बैंकरहरू पक्राउ परेको विषयमा वाणिज्य बैंकहरूको छाता संगठन एनबीएको पहलमा सरकार प्रमुखदेखि नियामक र प्रहरीका अधिकारीसम्म भेटघाट र छलफल गरिरहेको छ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र एनबिएका पदाधिकारीबीच आइतबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा लामो छलफल भएको थियो। सुरुमा बैंकर्सहरूले दिउँसो ३ बजेका लागि भेट्ने समय पाए पनि व्यस्तता दर्शाएर प्रधानमन्त्रीले साँझ भेट गरेका हुन्।