काठमाडौं। कांग्रेसलाई सत्ता विमुख गराएर नेकपा एमाले गठबन्धनमा हाम फालेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफू नमरुन्जेल राजनीतिमा उथलपुथल गरिरहने दाबी गरेका छन्।
राजधानीमा आज शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा सहभागी प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताका लागि कांग्रेसलाई सत्तामा हटाउनुपरेको जिकिर गरेका हुन्।
‘आजको दिन विशेष दिन। नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो सानो कुरा होइन, ठूलै हो। बृहत् कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ। म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ,’ उनले भने।
माओवादी नयाँ परिस्थिति सिर्जना गर्ने जात भएको उनले बताए। कांग्रेसलाई सत्ताबाट बाहिर लगेर सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता गरेको उनले दाबी गरे।
सत्ता विमुख हुँदै गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्ड राजनीतिक रुपमा धोखेबाज भएको गुनासो गरे।
सभापति देउवाले जनमत नभए पनि आफूले दुई–दुईपल्ट प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि कांग्रेसलाई धोका दिएकाले प्रचण्ड राजनीतिक रुपमा अक्षम भएको उनको दाबी थियो।
देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई निवास बूढानीलकण्ठ बोलाएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका हुन्। प्रचण्डको नियत धोका दिनु रहेको देउवाको भनाइ थियो।
बैठककको सुरुमा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीबाट भएको राजनीतिक बेइमानीबारे उपस्थित सदस्यलाई संक्षिप्तमा जानकारी दिएका थिए।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग छलफल नगरेको बैठकको निष्कर्ष छ। प्रधानमन्त्री आलोपालो हुने समझदारीमा प्रधानमन्त्री प्रचण्ड इमानदार नदेखिँदा गठबन्धन टुटेको देउवाको ठम्याइ छ।
सभापति देउवाले प्रचण्डले आफूलाई धोका दिएको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनाए।सरकारमा बदनाम कांग्रेस मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्षसमेत छाड्न सभापति देउवा तयार भए पनि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग नयाँ समीकरणका लागि फाइनल गरेकाले सहमतिमा नआएको देउवाले बताएको बूढानीलकण्ठ स्रोतले जनाएको छ।
आज मात्रै प्रधानमन्त्री दाहालले उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएर नयाँ समीकरण बनाउन लागेको र कांग्रेसलाई सरकारबाट हटाइने जानकारी गराएका थिए।
कांग्रेसले मंगलबार नै देउवा निवासमै कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।