काठमाडौं। सत्ता गठबन्धन परिवर्तन हुने चर्चासँगै सेयर बजारमा रौनक छाएको छ। सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निरन्तर तेस्रो सर्किट लागेपछि एक घण्टा चार मिनेटमै कारोबार बन्द भयो। केही दिनदेखि निरन्तर घटेको सेयर बजार सत्ता गठबन्धन फेरबदल गर्ने चर्चाले नेप्सेमा उछाल आयो। पछिल्ला केही वर्षहरुमा एमाले सत्तामा आउँदा सेयर बजारले सकारात्मक संकेत गर्ने गरेको छ। २०७८ सालमा पनि सेयर बजारले नयाँ उचाइ बनाइरहँदा एमाले सरकारबाट विमुख भएको थियो।
एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९६ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा रहँदा अर्थमन्त्री भने जनादर्न शर्मा थिए। त्यसपछि घटेको बजार विभिन्न आरोहअवरोह पार गर्दै आइतबार १९६०.३ बिन्दुमा रोकिएको थियो। आइतबार साँझदेखि सत्ता गठबन्धन फेरिने चर्चा सुरु भएको थियो, जसले सोमबार कारोबार खुल्नासाथ नेप्से उचालिन थालेको हो। सेयर बजारले धेरै जसो कांग्रेसभन्दा एमालेसहितको गठबन्धनलाई रुचाएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। ‘एमाले र माओवादीको गठबन्धन भएपछि अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउँछन् भन्ने हाम्रो अनुमान हो,’ रौनियार भन्छन्, ‘हिजोका दिनमा पनि विष्णु पौडेल आउँदा दुई पटक सर्किट लागेको थियो।’
२०७९ पुस ११ मा एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा उछाल आएको थियो। त्यसबेला नेप्सेमा ५६.८६ अंकको वृद्धि देखिएको थियो। २०७२ सालमा त्यतिबेलाको उच्च बिन्दु कायम गर्दा अर्थमन्त्री पौडेल नै थिए। २०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा अर्थमन्त्री पौडेल थिए। तर, २०७३ साउनमा १८८१ अंक पुगेर त्यसबेलाको उच्च अंक कायम गर्दा भने कांग्रेस समर्थनमा बनेको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा थिए। २०७९ चैत १९ शुक्रबार अर्थमन्त्री प्रकाससरण महत आएकोमा आइतबार नेप्से भने २० अंकले घटेको थियो। त्यसअघि २०६८ मा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा नेप्से सबैभन्दा न्यून २९१ बिन्दुसम्म झरेको थियो। २०७२ सालमा प्रधानमन्त्री केपी ओली नियुक्त हुँदा पनि नेप्से ३६ अंकले बढेको थियो।
सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेर २०७८ को बिन्दुमा बन्द भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट लागेको थियो भने २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लाग्यो।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पुँजी बजारले नपत्याएको अवस्थामा सत्तारुढ दलमा आएको परिवर्तनले बजार बढेको बताउँछन्। ‘अहिलेका अर्थमन्त्रीलाई पुँजी बजारले पत्याएको थिएन। लगानीकर्ताले सकरात्मक रुपमा लिँदा पनि महतले यस क्षेत्रमा ध्यान दिनु भएन। यही कारण गर्दा पुँजी बजार धरासयी भएर तल्लो बिन्दुमा आएको थियो,’ अध्यक्ष ढकाल भन्छन्, ‘आजका दिनमा सरकार परिवर्तन हुँदा प्रधानमन्त्रीमा दाहाल नै रहे पनि अर्थमन्त्री अर्को व्यक्ति आउने विषयले लगानीकर्ताको आत्मबल बढेको छ।’ ढकालका अनुसार नयाँ अर्थमन्त्री हुने सम्भावना बोकेका व्यक्ति पुँजी बजार बुझेका व्यक्ति आउने आशामा बजार बढेको हो। लगानीकर्ताले केही नयाँ खोजेको अवस्थामा भएको सत्तारुढ दल परिवर्तनले बजार चलायमान हुने अपेक्षा ढकालको छ।
सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेर २०७८ को बिन्दुमा बन्द भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट लागेको थियो भने २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लाग्यो। फेरि ४० मिनेटपछि खुलेको केही मिनेटमै पुनः एक प्रतिशत बिन्दु बढेपछि कारोबार बन्द भयो। सोमबार कारोबारमा आएका २ सय ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। आज पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा ३६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।