पर्वत। युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन सुरु गरेका हुन्।
ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति तयार गर्ने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको हो। जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गरेका छन्।
महाशिला गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरी गत महिनादेखि कक्षा सञ्चालनमा ल्याएको छ भने विहादी गाउँपालिकाले हालै सूचना जारी गर्दै तयारी कक्षामा सहभागी हुने पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका अन्य सर्वसाधारणलाई अनुरोध गरेको छ। महाशिलामा २५ जनाले नियमित तयारी कक्षा लिइरहेका छन्। सरकारी सेवा क्षेत्रमा विहादीभित्रका युवाको न्यून उपस्थितिलाई उच्च बनाउन, आर्थिकरुपले विपन्न तथा जेहेन्दार युवालाई शैक्षिक र रोजगार क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए।
लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गर्न लागेको हो। निजामती सेवा अप्राविधिक तर्फका नायब सुब्बा , खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुषालले जानकारी दिए। 'गाउँपालिकाले तयारी कक्षा सञ्चालन गर्न लागेको छ, पहिला प्रस्ताव आह्वान गर्छौँ, त्यसपछि कार्यविधि बनाएर युवाको मागबमोजिम लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ,' उनले भने। सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन सकिनेछ भन्ने लागेर कक्षा सञ्चालन गरेको उनको भनाइ छ।
उनका अनुसार गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्याक्ति कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन्। युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाकारुपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। लोकसेवा आयोगमा यस क्षेत्रका युवाको पहुँच र सहभागिता अझै पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै गाउँपालिकाले कक्षा सञ्चालन गर्न लागेको उनको भनाइ छ। रासस